मलेसिया रोजगारी ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी, विदेश भागेको प्रहरीको दाबी

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा गैरकानुनी रूपमा रकम मलेसिया पठाउने निर्णयसम्बन्धी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा तानिएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ। पक्राउ गर्न खोज्दा उनी सम्पर्कविहीन भएको र देशबाहिर गएको सूचना प्राप्त भएको सीआईबीको दाबी छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अर्याललाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ। उनले भने, ‘हाम्रो टोलीले उहाँलाई खोजिरहेको छ, तर उहाँ भागेर देशबाहिर जानुभएको भन्ने सूचना पाएका छौँ।’
अर्याल उक्त निर्णय प्रक्रियाका बेला श्रम सचिव थिए। प्रहरीले मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको र उक्त रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनको भूमिका रहेको आरोपमा अनुसन्धान अघि बढाएको हो।
यही प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
यसअघि सीआईबीले यही प्रकरणमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा उनीहरूको संलग्नता देखिएको हो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रमिकमाथि भएको ठगीमा मौन बसेको, कानुनी उपचारको पहल नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपसमेत अनुसन्धानको विषय बनेको छ।
अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी विदेश गएको प्रहरीको दाबीले प्रकरणलाई थप गम्भीर बनाएको छ। यद्यपि, अर्यालमाथि लागेको आरोप अनुसन्धानको क्रममा रहेको विषय हो र अदालतबाट दोषी ठहर भइसकेको अवस्था होइन।



प्रतिकृया दिनुहोस्