November 4, 2026, Wednesday
२०८३ कार्तिक १९

कैलाली कांग्रेसको विवाद चर्कियो, पार्टी कार्यालय कब्जा गरेको भन्दै सभापति भट्टको आक्रोश

धनगढी। नेपाली कांग्रेस कैलालीको आन्तरिक विवाद थप चर्किएको छ। पार्टी कार्यालयमा अर्को समूहले कार्यवाहक सभापतिको पत्र देखाउँदै कार्यालय सञ्चालन गर्न खोजेको भन्दै जिल्ला सभापति नारायणदत्त भट्टले आपत्ति जनाएका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति भट्टले आफ्नो नेमप्लेट हटाइएको र सभापतिको कुर्सीमा कार्यवाहक सभापति बसेको भन्दै तीव्र आक्रोश व्यक्त गरे। उनले उक्त गतिविधिलाई ‘चरम अनैतिकता र अराजकता’को संज्ञा दिँदै पार्टीभित्र विधि, विधान र स्थापित प्रक्रियाको पालना हुनुपर्ने बताए।

भट्टले कानुनी तथा सांगठनिक प्रक्रिया पूरा नगरी पार्टी कार्यालयमाथि नियन्त्रण जमाउन खोजिएको आरोप लगाए। पार्टीभित्रको विवादलाई शक्ति प्रदर्शन वा कार्यालय कब्जामार्फत नभई विधि, विधान र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

‘हिजो यसै कार्यालयमा सभापतिको नेमप्लेटसहित हटाइएको छ। कार्यवाहक सभापतिको नाममा सिटिङ सभापतिको कुर्सीमा बस्ने र कार्यालयका सामग्री हटाउने काम चरम अनैतिकता हो,’ भट्टले भने।

पत्रकार सम्मेलनमा भट्टले एउटै मितिमा जारी भएका तीनवटा पत्र सार्वजनिक गर्दै ती पत्रलाई आफ्नो दाबीको आधारका रूपमा प्रस्तुत गरे। उनका अनुसार पार्टीभित्र नेतृत्व तथा जिम्मेवारीसम्बन्धी विवादका क्रममा फरक–फरक निर्णय र पत्राचार भइरहेकाले विवाद थप जटिल बनेको छ।

उनले पार्टीको आधिकारिक निर्णय, विधान र प्रक्रियालाई बेवास्ता गरेर कुनै समूहले पार्टी कार्यालय तथा सांगठनिक संरचनामाथि नियन्त्रण कायम गर्न खोज्नु गलत भएको बताए। पार्टीको नेतृत्व र जिम्मेवारीसम्बन्धी विवादको समाधान संस्थागत प्रक्रियाबाटै हुनुपर्नेमा उनले जोड दिए।

कैलाली कांग्रेसको नेतृत्व र जिम्मेवारीलाई लिएर लामो समयदेखि देखिएको विवाद पार्टी कार्यालयसम्म पुगेपछि जिल्लाको कांग्रेस राजनीति थप पेचिलो बनेको छ।

कार्यवाहक सभापतिको जिम्मेवारी, त्यससम्बन्धी पत्राचार र पार्टी कार्यालय सञ्चालनको अधिकारलाई लिएर देखिएको विवादले कांग्रेस कैलालीभित्रको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ।