October 11, 2026, Sunday
२०८३ आश्विन २५

यज्ञराज जोशीको ‘बैसाखी’ लोकार्पण, भुइँमान्छेका कथा समेटिएको समीक्षकको भनाइ

काठमाडौं । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कथा संग्रह ‘बैसाखी’ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी र समालोचक एवं ‘बैसाखी’का सम्पादक सुभाषचन्द्र भण्डारीले संयुक्त रूपमा कृतिको लोकार्पण गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा. अवस्थीले पत्रकारिताबाट साहित्यमा आएका लेखकका शब्दमा विशेष शक्ति हुने उल्लेख गर्दै जोशीमा सिर्जनात्मक प्रतिभा, इच्छाशक्ति र लोकपरिवेशलाई लेखनमा उतार्ने क्षमता रहेको बताए ।

‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ । जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ । उहाँमा इच्छाशक्ति छ । लोकपरिवेशमूलक निपूणता छ । लेखनमा आलंकारिता छ,’ उनले भने, ‘तपाईंलाई आगामी साहित्यिक यात्राको शुभकामना ।’

उनले जोशीका कथाको शैली काव्यात्मक रहेको उल्लेख गर्दै अत्यधिक काव्यात्मकताले कथानक कमजोर बन्न सक्ने र लेखक विषयवस्तुबाट बहकिन सक्ने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिए ।

समीक्षक ज्ञानु अधिकारीले ‘बैसाखी’मा भुइँमान्छेको इतिहास र जीवनलाई कथाका माध्यमबाट संग्रहित गरिएको बताइन् । उनले कृतिमा नारीवादी मनोविज्ञानलाई समेत सशक्त रूपमा प्रस्तुत गरिएको उल्लेख गरिन् ।

‘लेखक जोशीले माटोका कथा लेख्नुभएको छ । महिलाका आँसु र पीडाका कथा छन् । निरीह पारिएका वर्गलाई नायकका रूपमा प्रस्तुत गरिएको छ,’ अधिकारीले भनिन् ।

कृतिका पात्रले जस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्ने अवस्था बने संसार अझ सुन्दर हुने मनोभाव ‘बैसाखी’ पढ्दै गर्दा आफूमा पैदा भएको उनको भनाइ थियो ।

कृतिका सम्पादक सुभाषचन्द्र भण्डारीले जोशीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग कथामा उतार्न सफल भएको बताए । उनले जोशीको लेखनीमा आधुनिक कथाशिल्प देखिने र गाउँपरिवेशदेखि बाल्यकालसम्मका अनुभवलाई मिहिन रूपमा प्रस्तुत गरिएको उल्लेख गरे ।

‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ । पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ । बाल्यकालदेखि गाउँपरिवेशका सबै कथा उहाँले मिहिन रूपमा लेख्न सफल हुनुभएको छ,’ उनले भने, ‘कतिपय कथामा त वास्तविक पात्रको अनुमति लिएर नै उहाँले कथा बुनेर नयाँ प्रयोग गर्नुभएको छ ।’

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले आफूले लेखक जोशीलाई दुई दशकदेखि चिनेको स्मरण गर्दै उनी लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहेको बताए । सुदूर भूमिबाट दुःख र संघर्ष गर्दै अगाडि बढेका जोशीले भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै उनले खुसी व्यक्त गरे ।

प्राध्यापक माधव नेपालले ‘बैसाखी’ लेखनका क्रममा आफूले दिएका विभिन्न सुझावलाई आत्मसात् गर्दै जोशीले कृतिलाई अन्तिम रूप दिन सफल भएको बताए । उनले सात वर्ष लगाएर पुस्तक प्रकाशनमा ल्याउनुलाई लेखकको धैर्य र मिहिनेतको उदाहरणका रूपमा प्रस्तुत गरे ।

‘उहाँ प्रतीक्षा गर्न सक्ने व्यक्ति हो । सात वर्ष लगाएर बैसाखी बजारमा ल्याउनुभयो । मिहिनेत गर्ने हुटहुटी र प्रतीक्षा गर्न सक्ने जोशीको बानीबाट म प्रभावित छु,’ नेपालले भने ।

कृतिकार यज्ञराज जोशीले ‘बैसाखी’मार्फत आफूले भन्न खोजेका धेरै कुरा प्रस्तुत गरिसकेको बताउँदै अब पाठकका प्रतिक्रिया र सुझावलाई आफ्नो साहित्यिक यात्राको अमूल्य निधिका रूपमा लिने बताए ।

आफू साहित्यतर्फ आकर्षित हुनुमा आमाको प्रेरणा प्रमुख रहेको उनले सुनाए । ‘आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिट्ठी लेख्न भन्नुहुन्थ्यो । चिट्ठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो । म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ । आजको दिनसम्म आइपुग्दा त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ,’ उनले भने ।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए । लोकार्पणअघि नै पुस्तकको माग बढिसकेको उनको भनाइ थियो ।

‘बैसाखी’को बजार मूल्य ५९५ रुपैयाँ रहेको छ ।