सुदूरपश्चिम प्रदेशसभा बैठकको समय फेरि सर्यो, दिउँसो २ बजे बस्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने तयारी गरे पनि बजेटको अन्तिम तयारी र आवश्यक प्रक्रिया पूरा नभएपछि प्रदेशसभा बैठक फेरि सारिएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक अब दिउँसो २ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयकी प्रवक्ता ताराकुमारी जोशीका अनुसार बजेट प्रस्तुत गर्न आवश्यक तयारी पूरा नभएकाले बैठकको समय सारिएको हो। बजेटको अन्तिम टुंगो लगाउने प्रक्रिया नसकिएपछि बिहानको बैठक बस्न नसकेको हो।
यसअघि शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक पनि बजेट प्रस्तुत गर्ने तयारी पूरा नभएको भन्दै दिउँसो ४ बजेका लागि सारिएको थियो। त्यसपछि आज बिहान ९ बजे बस्ने गरी पुनः समय निर्धारण गरिएको बैठक पनि २ बजेसम्मका लागि स्थगित भएको हो।
अर्थ मन्त्रालयले बजेटको मस्यौदा लगभग तयार भइसकेको जनाएको छ। तर मन्त्रालयगत बजेट बाँडफाँट, योजना तथा विनियोजनको अन्तिम टुंगो र बजेट प्रस्तुत गर्ने आवश्यक प्रक्रिया पूरा हुन नसक्दा प्रदेश सरकार बजेट ल्याउन असफल हुँदै आएको छ।
सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि बजेट ल्याउने कानुनी बाटो भने खुलेको छ। यसअघि सर्वोच्चमा परेको रिटका कारण बजेट प्रक्रिया रोकिएको थियो।
चालु आर्थिक वर्ष सुरु भएको करिब तीन महिना बितिसक्दा पनि बजेट प्रस्तुत हुन नसक्दा सुदूरपश्चिम प्रदेश सरकार बजेटविहीन अवस्थामा छ। बजेटमा सहमति जुट्न नसक्दा प्रदेशको आर्थिक गतिविधि, विकास निर्माण र सरकारी सेवा प्रवाहमा समेत असर परेको छ।




प्रतिकृया दिनुहोस्