लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

धनगढी । लामो समयदेखिको राजनीतिक खिचातानी र गठबन्धनभित्रको विवादका कारण रोकिएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट अन्ततः प्रदेशसभामा प्रस्तुत भएको छ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिनापछि सरकारले बजेट प्रदेशसभामा ल्याएको हो।
यसअघि असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो। तर नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा देखिएको विवादका कारण उक्त बजेट पारित हुन सकेन।
त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भयो। नयाँ सरकार गठनपछि पनि गठबन्धनभित्र तथा मन्त्रिमण्डलका सदस्यहरूबीच बजेटको आकार, योजना छनोट र मन्त्रालयगत विनियोजनमा सहमति जुट्न सकेन।
बजेट निर्माणमा लामो समयसम्म सहमति नजुट्दा सुदूरपश्चिम प्रदेश झन्डै तीन महिनासम्म बजेटविहीन अवस्थामा रह्यो। बजेट अभावका कारण प्रदेश सरकारका नियमित प्रशासनिक कामसँगै विकास निर्माणका योजना तथा कार्यक्रमसमेत प्रभावित भएका थिए।
सरकारले प्रस्तुत गरेको बजेटमाथि अब प्रदेशसभामा छलफल र पारित गर्ने प्रक्रिया अघि बढ्नेछ। बजेट पारित भएपछि प्रदेश सरकारका नियमित आर्थिक गतिविधि, विकास निर्माण तथा योजनागत कामलाई थप गति दिने बाटो खुल्ने अपेक्षा गरिएको छ।
सरकारले बजेटको स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। वित्तीय समानीकरण अनुदानतर्फ नेपाल सरकारबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजन भई खर्च नभई बचत हुने अनुमान गरिएको ९ अर्ब ६५ करोड रुपैयाँलाई समेत बजेटको स्रोतका रूपमा समावेश गरेको छ।
यसैगरी, सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।



प्रतिकृया दिनुहोस्