October 11, 2026, Sunday
२०८३ आश्विन २६

बूढीगण्डकीमा भीषण बाढी : तीन पुल बगे, चार जना सम्पर्कविहीन

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुब्री गाउँपालिकाका ३५ घर बगाएको, तीनवटा पुल बगाएको तथा विभिन्न बस्तीमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। उङगिलुङ खोला किनारबाट चार जना भने सम्पर्कविहीन छन्।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि बाढीले व्यापक क्षति पुर्‍याएको छ। चुमनुब्री–३ का बजार क्षेत्रमा समेत ठूलो क्षति भएको उनले बताइन्।

स्थानीयका अनुसार आज बिहान करिब ४ बजे आसपासका बस्तीमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीको जोखिम बढेपछि सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

बाढीले चुमनुब्री–३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल बगाएको छ। यसबाट गोरखा–धादिङ सडक सम्पर्कसमेत प्रभावित भएको छ।

माछीखोलाको तल्लो बस्तीका ५ देखि ७ घर तथा त्यति नै संख्याका टहरामा बाढी पसेको प्रारम्भिक विवरण छ। धार्चे–३ सल्लेरीका करिब २० देखि २२ घर जोखिममा रहेको प्रहरीले जनाएको छ।

चार जना सम्पर्कविहीन

उङगिलुङ खोला किनारमा रहेका गोठ तथा संरचनाबाट चार जना सम्पर्कविहीन भएको स्थानीय तथा प्रशासनिक अधिकारीले बताएका छन्। उनीहरू चुमनुब्री–६ चुम्चेत क्षेत्रमा गोठमा बसेका थिए। उनीहरूको खोजी भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार उङगिलुङ खोला किनारका चारवटा गोठ र त्यहाँ रहेका करिब १५ वटा याक तथा नाकसमेत बाढीले बगाएको छ।

पहिरोपछि बाढी आएको प्रारम्भिक अनुमान

बाढीको यकिन कारण भने अझै पुष्टि भएको छैन। प्रहरीका अनुसार चुमनुब्री–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि एक्कासि ठूलो बहावसहित पानी तलतर्फ आएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

बिहान करिब ५ः३० बजे नदी थुनिएको सूचना आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको र करिब ६ः१५ बजे थुनिएको स्थानबाट पानी बग्न थालेपछि बाढीको बहाव बढेको प्रहरीले जनाएको छ।

यसअघि उत्तरी हिमाली क्षेत्रमा हिमपहिरो वा अन्य प्राकृतिक घटनाका कारण बाढी आएको हुनसक्ने अनुमान पनि गरिएको थियो। घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायले अध्ययन गरिरहेका छन्।

उद्धारमा सेना–प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तथा सम्भावित जोखिमबारे स्थानीयलाई सचेत गराउने काम भइरहेको छ।

प्राधिकरण तथा सुरक्षा निकायले घटनास्थलको हवाई निरीक्षणसमेत थालेका छन्। मौसम प्रतिकूल रहेकाले केही जोखिमयुक्त स्थानमा हेलिकोप्टर अवतरण गर्न कठिनाइ भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको आधिकारिक पुष्टि भएको छैन। तर चार जना सम्पर्कविहीन छन् भने दर्जनौँ घर, गोठ, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बूढीगण्डकीको बहाव बढेकाले गोरखा, धादिङ, तनहुँ, मुग्लिन हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।