सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै, अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
सम्मेलनमा संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल हुनेछ। प्रदेशहरूले हालसम्म गरेका अभ्यास, कार्यान्वयनका अनुभव, सफल मोडल तथा साझा चुनौतीबारे समेत विस्तृत समीक्षा गरिने बताइएको छ।
मुख्यमन्त्री कार्कीका अनुसार सम्मेलनमा संविधानप्रदत्त प्रदेश अधिकारको प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारीमा स्पष्टता, वित्तीय संघीयता तथा प्रदेशको स्रोत परिचालनलगायत विषयमा विचार–विमर्श हुनेछ।
त्यस्तै, प्रदेशका साझा हितका विकास आयोजना, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट तथा विपद् व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने विषय पनि सम्मेलनका प्रमुख एजेन्डा रहेका छन्।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावना पहिचान गर्ने र अन्तरप्रदेशीय सहकार्यलाई संस्थागत गर्ने विषयमा समेत सम्मेलन केन्द्रित हुनेछ।
संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या र चुनौतीबारे सातै प्रदेशबीच साझा धारणा निर्माण गर्ने तथा समाधानका लागि संघ सरकारसमक्ष आवश्यक पहल गर्ने उद्देश्यले सम्मेलनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।



प्रतिकृया दिनुहोस्