न्यूनचापीय प्रणाली कमजोर हुँदै, आज पनि भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (डिप्रेसन) भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी २४ घण्टाभित्र क्रमशः कमजोर हुने र न्यूनचापीय प्रणालीकै रूपमा रहने महाशाखाको पूर्वानुमान छ।
बिहीबार बिहान बंगालको खाडीबाट भारतको जमिनी भूभागमा प्रवेश गरेको उक्त प्रणाली नेपालमा भने सिधै प्रवेश नगरेको महाशाखाले जनाएको छ। तर प्रणालीका कारण भित्रिएको जलवाष्पयुक्त हावा, सक्रिय मनसुन तथा अन्य मौसमी प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
शुक्रबार बिहान कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो १२ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा ९८ मिलिमिटर, इलामको कन्याममा ८८, बाँकेको ढकेरीमा ७९.४, कोहलपुरमा ७६.८, चितवनको मादीमा ७१.८, काभ्रेपलाञ्चोकको रोशीमा ७२.८ र नवलपुरको देउरालीमा ७०.८ मिलिमिटर वर्षा मापन भएको छ।
आज दिउँसो देशभर अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान र सुदूरपश्चिमका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग, कर्णालीका पहाडी भूभागका अधिकांश स्थान, मधेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मधेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षासँगै मधेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस्