September 25, 2026, Friday
२०८३ आश्विन ९

सेती नदीमा खसेर बेपत्ता डोटीकी शिक्षिकाको शव कैलालीमा भेटियो

धनगढी । डोटीमा सेती नदीमा खसेर बेपत्ता भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ।

दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी श्रेष्ठ भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट नदीमा खसेर बेपत्ता भएकी थिइन्।

प्रहरीका अनुसार उनको शव बुधबार टीकापुर नगरपालिका–२, मूलपानीस्थित कर्णाली नदीको किनारमा फेला परेको हो। शव फेला परेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार प्रियंकाका ठूला बुवा हेमचन्द्र श्रेष्ठले बुधबार दिउँसो शवको पहिचान गरेका थिए।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव टीकापुर अस्पतालको शवगृहमा राखेको जनाएको छ।

प्रियंका नदीमा खसेको घटनाको कारण भने अहिलेसम्म खुलेको छैन। उनको खोजीका क्रममा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।