September 25, 2026, Friday
२०८३ आश्विन ९

दीपक सुनार हत्या प्रकरण : श्रीमतीसहित पाँच जना पुर्पक्षका लागि थुनामा

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या प्रकरणमा उनकी श्रीमतीसहित पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि दीपककी श्रीमती ३२ वर्षीया यमुना सुनार, उनका प्रेमी लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, कञ्चनपुर बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना थारू, बेलौरी–८ का ३२ वर्षीय मिभ राना थारू र कैलाली टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतोलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको कैलाली प्रहरीले जनाएको छ। अदालतको आदेशपछि उनीहरूलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

प्रहरी अनुसन्धानअनुसार दीपकको हत्या साउन २१ गते बेलुकी अमरावती जंगलमा गरिएको थियो। प्रहरीका अनुसार यमुनाले दीपकलाई योजनाअनुसार जंगलमा पुर्‍याएकी थिइन्। त्यहाँ पहिल्यै लुकेर बसेका चार जनाले घरेलु हतियार प्रहार गरी दीपकको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार हत्या भएपछि दीपकको शरीर र टाउको अलग पारिएको थियो। त्यसपछि शव मोटरसाइकलमा राखेर नजिकैको कर्णाली नदीमा लगेर फालिएको अनुसन्धानबाट खुलेको छ। तर, घटनाको लामो समय बितिसक्दा पनि दीपकको शव भने फेला परेको छैन।

प्रहरीले घटनास्थलबाट संकलन गरेको रगतको नमुना डिएनए परीक्षणका लागि पठाएको छ। त्यसको रिपोर्ट भने अझै प्राप्त नभएको डिएसपी तिमिल्सिनाले बताए।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाले अनुसन्धानका क्रममा दीपकको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। तर, प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट यमुना र दुर्योधनले अन्य तीन जनालाई दीपकको हत्या गर्न डेढ लाख रुपैयाँमा ‘सुपारी’ दिएको खुलेको प्रहरीको दाबी छ।

अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाएसँगै अब मुद्दाको प्रमाण, बयान तथा अन्य अनुसन्धान सामग्रीका आधारमा न्यायिक प्रक्रिया अघि बढ्नेछ।