September 1, 2026, Tuesday
२०८३ भाद्र १६

सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा सुरु, आज बिरुडा पञ्चमी

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक तथा महत्वपूर्ण पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व सुरु भएको हो।

गौराको पहिलो दिन आज व्रतालु महिलाले घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा राख्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगार गरी त्यसमा मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाइन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ भने गौरादेवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ।

आलिताल गाउँपालिका, डडेल्धुराका ७८ वर्षीय खगेस्वरी भट्टका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुन्छ। बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा सगुन तथा फाग गाउने परम्परा रहेको उनले बताए।

संस्कृतिका जानकार मुरलीधर अवस्थीका अनुसार बिरुडा भिजाउने क्रममा गाइने फागमा गौरा र महादेवबीचको संवाद तथा धार्मिक–सांस्कृतिक प्रसङ्ग समेटिन्छ। गौरा व्रतका लागि आवश्यक अन्न तथा गेडागुडी जुटाउने प्रसङ्गसँग जोडिएको कथा फागमार्फत प्रस्तुत गरिने उनले बताए।

बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडा षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराका विशेष दिन मानिन्छ। सप्तमीका दिन धान खेतमा धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाएर गौराघरमा भित्र्याउने चलन छ।

व्रतालु सरस्वती अवस्थीका अनुसार गौरामा महिलाले पुरुषले यज्ञोपवीत लगाएझैँ दुबधागो लगाउने परम्परा छ। गौरा देवीको पूजाआजाबाट श्रीमान् तथा परिवारका सदस्यको स्वास्थ्य, दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गरिने उनले बताइन्।

गौराष्टमी अर्थात् अष्टमीका दिन पूजाआजा गरी मङ्गलगानका साथ गौरा नचाइन्छ। गौरालाई गौराघरको आँगनमा ल्याएर अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीत गाएर नचाउने गरिन्छ। यसै दिनदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा खेल्ने चलनसमेत छ।

धार्मिक मान्यताअनुसार पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरीका रूपमा पूजा गरिन्छ। स्थानीय लोकरीति र परम्पराअनुसार शिव–गौरीको पूजाआजा गरिने पर्व नै गौरा हो।

गौरा पर्व अगस्ति ताराको उदयका आधारमा शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्छ। शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ। दुवैलाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिने गरिन्छ।

गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्। पर्वका क्रममा देउडा, डुस्को, धमारीलगायतका लोकसंस्कृति तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छन्।