सडक पूर्वाधारसँगै बाजुराको स्याउलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिन्छ : पूर्वमन्त्री शाही

बाजुरा । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बाजुरामा उत्पादन हुने गुणस्तरीय स्याउलाई सडक पूर्वाधारको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिने बताएका छन्।
बाजुराको स्याउले पर्याप्त बजार नपाउनुमा सडक, ढुवानी तथा भण्डारणको समस्या प्रमुख रहेको भन्दै उनले कृषि उत्पादनको बजारीकरणलाई सडक पूर्वाधारसँग जोड्नुपर्ने बताए। किसानले उत्पादन गरेको स्याउ सहज रूपमा बजारसम्म पुर्याउन सके उचित मूल्य पाउने उनको भनाइ छ।
‘बाजुराको स्याउ निकै मिठो र गुणस्तरीय छ। यसलाई स्वदेशमा मात्रै होइन, विदेशमा समेत पठाउन सकिन्छ,’ पूर्वमन्त्री शाहीले भने, ‘त्यसका लागि यहाँको सडक पूर्वाधार राम्रो बनाउन आवश्यक छ।’
कोल्टी हुँदै मार्तडी पुग्ने सडक निर्माण तथा स्तरोन्नति भएपछि स्याउ ढुवानी सहज हुने उनले बताए। सडकसँगै शीत भण्डार, ढुवानी र बजार व्यवस्थापनको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए।
पाण्डुसैनस्थित सहारा कृषि फार्मको निरीक्षणका क्रममा शाहीले बाजुरामा स्याउ उत्पादन, बजारीकरण तथा कृषि पर्यटनको ठूलो सम्भावना रहेको बताए। यी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग छलफल गर्ने उनले जानकारी दिए।
बाजुराको स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ। तर, पर्याप्त बजार तथा शीत भण्डारको अभावका कारण किसानले अपेक्षित मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन्।
स्याउ उत्पादनलाई व्यावसायिक कृषिसँग जोड्दै बजारको सुनिश्चितता र कृषि पर्यटनको विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको शाहीले बताए। सडक, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा राज्यले लगानी बढाउन सके किसानको आयआर्जनसँगै जिल्लाको आर्थिक गतिविधिसमेत बढाउन सकिने उनको भनाइ छ।





प्रतिकृया दिनुहोस्