September 1, 2026, Tuesday
२०८३ भाद्र १६

नुवाकोटको एउटै घरबाट २४ शव फेला, थप शवको खोजी जारी

नुवाकोट । भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार सोमबार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा घरभित्रबाट २४ शव फेला पारेका हुन्। घरभित्र अझै खोजी कार्य जारी रहेकाले शवको संख्या थपिन सक्ने उनले बताए।

फेला परेका शवको हालसम्म पहिचान खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

उक्त घर कसको हो र एकै स्थानमा यति ठूलो संख्यामा शव कसरी भेटिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। घर होटल वा गेस्टहाउसजस्तो देखिए पनि यसको यकिन विवरण खुल्न बाँकी रहेको रेग्मीले बताए।

बेत्रावती क्षेत्रमा थप शव हुन सक्ने आशंकामा सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने अझै धेरै मानिस सम्पर्कविहीन छन्।