September 1, 2026, Tuesday
२०८३ भाद्र १६

भोटेकोशी बाढीमा बगेका १७ शव भारतमा फेला

काठमाडौं । नेपालमा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बगेका १७ शव भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रमा फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार कुशीनगर र महराजगन्ज जिल्लाका विभिन्न क्षेत्रमा ती शव फेला परेका हुन्। कुशीनगरको खड्डा र तमकुहीराज तहसील क्षेत्रबाट १३ तथा महराजगन्जबाट चार शव बरामद गरिएको जनाइएको छ।

कुशीनगर प्रशासनका अनुसार नदीबाट फेला परेका १३ शवमध्ये ६ जना पुरुष र सात जना महिला छन्। शवको तत्काल पहिचान हुन नसकेकाले सबैलाई अज्ञात शवका रूपमा राखिएको छ।

फेला परेका १३ शवमध्ये छवटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ। शवगृहमा ठाउँ अभाव भएपछि बाँकी सात शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ।

यसअघि महराजगन्ज क्षेत्रमा फेला परेका तीन महिला र एक पुरुष गरी चार शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार नै नेपाली प्रशासनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ।

फेला परेका शवको पहिचानका लागि पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखिएको छ। शवको पहिचान तथा आवश्यक समन्वयका लागि कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयमार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने प्रक्रिया अघि बढाइएको छ।

कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवका अनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रिया पूरा भइरहेको छ। पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ। त्यसपछि पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रक्रिया अघि बढाइनेछ।

नेपालमा आएको बाढीपछि गण्डक (नारायणी) नदीको बहाव तीव्र बनेकाले शवहरू नदी हुँदै भारत पुगेको अनुमान गरिएको छ। नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।

यसैबीच, आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष (कन्ट्रोल रुम) समेत स्थापना गरेको जनाएको छ।