September 1, 2026, Tuesday
२०८३ भाद्र १६

चितवनमा २८० शवको फरेन्सिक परीक्षण, डीएनए नमूना सङ्कलन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरिएको छ। नमूना सङ्कलनपछि ती शवलाई चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरेका थिए। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि फरेन्सिक परीक्षण, डीएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरण सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ। तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।

सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ शवको पहिचान खुल्न नसकेको वा अवस्था यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

पौडेलका अनुसार भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। भदौ १३ गते ९६, भदौ १४ गते १०३ र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको उनले बताए।

नदी किनारमा शव खोज्ने कार्य अझै जारी रहेको पौडेलले जानकारी दिए। नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले बताए।