September 1, 2026, Tuesday
२०८३ भाद्र १६

भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिमका नेकपा सांसदले १५ दिनको पारिश्रमिक दिने

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्।

नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले सांसदहरूको १५ दिनको पारिश्रमिक राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा मुख्यमन्त्री भट्टले आफूले व्यक्तिगत रूपमा एक महिनाको पारिश्रमिक बाढी प्रभावितका लागि उपलब्ध गराउने बताएका थिए। यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बाढी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरिसकेको छ।

यसैगरी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना सांसदहरूको १० दिनको पारिश्रमिक बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको थियो। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले भने आफूले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताएका थिए।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।