August 20, 2026, Thursday
२०८३ भाद्र ४

३५ वर्षपछि बङ्गलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन

ढाका : बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ। देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्दै छन्।

निर्वाचनमा सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदै छ।

कुल ३४९ सांसदले मतदान गर्न पाउनेछन्। मतदान दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद्को मुख्य कक्षमा हुनेछ। मतदान सकिएलगत्तै मतगणना गरी प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन अधिकृतले परिणाम घोषणा गर्ने कार्यक्रम छ।

३५० सदस्यीय संसद्मा ३०० सामान्य र ५० महिला आरक्षित सिट छन्। चट्टोग्राम–४ निर्वाचन क्षेत्र रिक्त रहेकाले हाल ३४९ सांसद मात्र मतदानका लागि योग्य छन्।

संसद्मा बीएनपीको स्पष्ट बहुमत रहेकाले मिर्जा फखरुलको जितको सम्भावना बलियो देखिएको छ। संविधानको धारा ७० का कारण पनि परिणाममा सत्तारूढ दलको प्रभाव रहने देखिन्छ। उक्त प्रावधानअनुसार कुनै दलबाट निर्वाचित सांसदले संसद्मा आफ्नै दलको निर्णयविपरीत मतदान गरेमा सांसद पद गुम्न सक्छ।

३५ वर्षपछि फेरि प्रतिस्पर्धा

बङ्गलादेशमा पछिल्लोपटक ८ अक्टोबर १९९१ मा एकभन्दा बढी उम्मेदवारबीच राष्ट्रपतीय निर्वाचन भएको थियो। त्यतिबेला बीएनपीका उम्मेदवार अब्दुर रहमान विश्वासले १७२ मत प्राप्त गर्दै अवामी लिगका उम्मेदवार न्यायाधीश बदरुल हैदर चौधरीलाई पराजित गरेका थिए। चौधरीले ९२ मत पाएका थिए भने ६६ सांसदले मतदान गरेका थिएनन्।

त्यसपछि संसदीय प्रणालीअन्तर्गत भएका राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा भएन। संसद्मा बहुमत प्राप्त दलको समर्थनमा उम्मेदवारहरू निर्विरोध राष्ट्रपति बन्दै आएका थिए।

सन् १९९६ मा शाहाबुद्दिन अहमद, २००१ मा एक्यूएम बदरुद्दोजा चौधरी, २००२ मा इजुद्दिन अहमद, २००९ मा जिलुर रहमान, २०१३ र २०१८ मा अब्दुल हमिद तथा २०२३ मा मोहम्मद शाहाबुद्दिन राष्ट्रपति निर्वाचित भएका थिए। ती निर्वाचनमा उनीहरूका विरुद्ध कुनै प्रतिस्पर्धी उम्मेदवार थिएनन्।

त्यसैले यसपटक दुई उम्मेदवारबीच प्रत्यक्ष प्रतिस्पर्धा हुनु बङ्गलादेशको संसदीय लोकतान्त्रिक अभ्यासमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

पटक–पटक फेरिएको राष्ट्रपतीय निर्वाचन प्रणाली

बङ्गलादेशमा स्वतन्त्रतापछि राष्ट्रपतिको निर्वाचन प्रणाली पटक–पटक परिवर्तन भएको छ। संसदीय प्रणालीअन्तर्गत पहिलो राष्ट्रपतीय निर्वाचन सन् १९७४ मा भएको थियो। त्यसबेला संसद्का सभामुख मोहम्मद मोहम्मदुल्लाह राष्ट्रपति निर्वाचित भएका थिए।

त्यसपछि सन् १९७८, १९८१ र १९८६ मा राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन भयो। सन् १९७८ मा जियाउर रहमान, १९८१ मा न्यायाधीश अब्दुस सत्तार र १९८६ मा हुसेन मोहम्मद इरशाद प्रत्यक्ष मतदानबाट राष्ट्रपति निर्वाचित भएका थिए।

सन् १९९१ मा संसदीय प्रणाली पुनःस्थापित भएपछि राष्ट्रपतिको निर्वाचन अप्रत्यक्ष प्रणालीमा फर्कियो। त्यसयता संसद्का सदस्यहरू नै राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचक रहँदै आएका छन्।

यसपटक परिणाम सत्तारूढ बीएनपीका उम्मेदवार मिर्जा फखरुलको पक्षमा जाने अनुमान गरिए पनि ३५ वर्षपछि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा हुनुलाई नै प्रमुख राजनीतिक घटनाका रूपमा हेरिएको छ। यसले बङ्गलादेशको संसदीय लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा र लोकतान्त्रिक संस्थाहरूको अवस्थाबारे नयाँ बहससमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ।