इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एक जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पपछि केही समय तटीय क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरिएको थियो।
अधिकारीहरूका अनुसार भूकम्पको केन्द्रबिन्दु नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पका कारण एउटा भवन भत्किँदा ५४ वर्षीया महिलाको मृत्यु भएको छ। माउमेरे खोज तथा उद्धार कार्यालयका प्रमुख फथुर रहमानले घटनामा अन्य दुई जना घाइते भएको पुष्टि गरेका छन्।
भूकम्पपछि पूर्वी नुसा तेंगारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेंगारा प्रान्तका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो। स्थानीय बासिन्दालाई समुद्री किनारबाट सुरक्षित स्थानतर्फ जानसमेत अधिकारीहरूले निर्देशन दिएका थिए। पछि सुनामीसम्बन्धी चेतावनी हटाइए पनि तटीय क्षेत्रबाट टाढै रहन आग्रह गरिएको छ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (बीएनपीबी) ले भूकम्पपछि आउन सक्ने परकम्प र अन्य जोखिमबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी चिरा परेका वा संरचनागत क्षति पुगेका भवनमा प्रवेश नगर्न चेतावनी दिइएको छ।
बीएनपीबीका कार्यवाहक प्रमुख बर्टोन पन्जाइतानले प्रारम्भिक विवरणहरू संकलन भइरहेको र क्षतिको पूर्ण मूल्यांकनपछि मृत्यु, घाइते तथा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिने बताएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
भूकम्पपछि स्थानीय बासिन्दामा ठूलो त्रास फैलिएको थियो। पूर्वी नुसा तेंगाराको सिका जिल्लास्थित तालिबुरा गाउँका अर्नोल्ड वेलियान्तोले आफू सुतिरहेका बेला अत्यन्त शक्तिशाली कम्पन महसुस गरेको बीबीसीलाई बताएका छन्।
उनका अनुसार कम्पन महसुस हुनेबित्तिकै उनी बच्चाको कोठामा पुगेका थिए। त्यसपछि घरबाहिर निस्किँदा समुद्रनजिकै बसोबास गर्ने मानिसहरू घर छाडेर सुरक्षित स्थानका रूपमा डाँडातर्फ भागिरहेका थिए।
परकम्पको जोखिमका कारण धेरै स्थानीय बासिन्दा घरभित्र फर्किन सकेका छैनन्। खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा मानवीय अवस्था र भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ।





लेखकको सम्वन्धमा