कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विशेष सुराकीका आधारमा साउन २५ गते दिउँसो करिब ४ बजे सालघारी क्षेत्रमा शंकास्पद अवस्थामा रहेका युवाहरूको मोबाइल जाँच गर्दा कटुवा पेस्तोलको फोटो तथा भिडियो फेला परेको थियो। त्यसपछि थप अनुसन्धान गर्दै उनीहरू बस्दै आएको डेराको कोठामा खानतलासी गरिएको थियो।
भीमदत्त नगरपालिका–१८ स्थित मामा–भान्जा चोकमा रहेको डेरा कोठामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–३ का १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।
पक्राउ परेका चारै जनालाई प्रहरी नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
प्रहरीले बरामद गरेको हतियारको स्रोत तथा उनीहरूको सम्भावित गतिविधिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।





प्रतिकृया दिनुहोस्