January 20, 2026, Tuesday
२०८२ माघ ६

प्रतिनिधि सभा निर्वाचन : साँझ ५ बजेसम्म देशभर २६५५ जनाको उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

काठमाडौं : प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म देशभर २ हजार ६५५ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म २ हजार ३५२ पुरुष र ३०३ महिलासहित २ हजार ६५५ जनाको उम्मेदवारी परेको हो। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन् । कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको सूची साँझ ५ बजे देखि ७ बजे सम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने, माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ। सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। 

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।