September 1, 2026, Tuesday
२०८३ भाद्र १६

बहुवर्षीय ठेक्का लिएर आयोजना अलपत्र पार्ने अवस्था अन्त्य गर्छौँ : भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का लिएर वर्षौँसम्म आयोजना अलपत्र पार्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय आयोजनालाई आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाइने बताए।

प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागिसके पनि लामो समयदेखि अलपत्र रहेको उल्लेख गर्दै उनले आयोजना कार्यान्वयनअघि आवश्यक साइड क्लियरेन्स, सुरक्षा तथा अन्य व्यवस्थापन सुनिश्चित गर्नुपर्ने बताए। यी समस्या समाधान गर्न सके निर्माण कार्यले गति लिने उनको भनाइ थियो।

निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्नु राज्यको जिम्मेवारी भएको बताउँदै मुख्यमन्त्री भट्टले निर्माण व्यवसायीले पनि सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

लामो समयदेखि अड्किएका सडक तथा अन्य पूर्वाधार आयोजना तदारुकताका साथ अघि बढाउने प्रदेश सरकारको संकल्प रहेको उल्लेख गर्दै उनले विकास निर्माणलाई निश्चित गति र परिणाममुखी ढंगले अघि बढाउन सरकार र निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको बताए।