डोटीबाट ह्याट्रिक गरेका प्रेम आले कैलाली-५ बाट बने नेकपाको उम्मेदवार

धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यस पटक नेकपाबाट निर्वाचन लड्ने भएका हुन् ।
अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यसपटक भने नेकपाबाट कैलाली–५ मा चुनाव लड्ने भएका हुन्।
संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।
नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिय रहेका प्रेम आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले टिकट दिएका हुन् ।
नेकपाले कैलाली–४ बाट हरि चौधरी ‘उत्सव’, ३ बाट विरमान चौधरी र २ बाट राजेन्द्र साउनको टिकट टुंग्याइसकेको छ। कैलाली–१ का विषयमा भने पार्टीभित्र छलफल जारी रहेको जनाइएको छ।





प्रतिकृया दिनुहोस्