प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सुचारु हुने

काठमाडौँ । संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतिपक्षी दलहरूको आग्रहपछि यसअघि भदौ २२ गतेका लागि तय गरिएको बैठक अगाडि सारिएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले बाढीपहिरोजस्तो राष्ट्रिय संकटका बेला जनसरोकारका विषय उठाउन संसद् सञ्चालन आवश्यक रहेको बताए।
उनका अनुसार बुधवारको बैठकमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिनेछ।
परियारले उद्धार तथा खोजतलास कार्यसँगै बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग र आपूर्ति व्यवस्थाबारे पनि संसद्मा छलफल आवश्यक रहेको बताए। उपत्यकामा दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव हुन सक्ने भन्दै उनले सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए।
संकटको मौका छोपेर कालोबजारी र कृत्रिम मूल्यवृद्धि नगर्न व्यवसायीलाई आग्रह गर्दै उनले राहत तथा उद्धारमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने स्पष्ट पारे।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि प्राकृतिक विपद्को समयमा जनसरोकारका विषय सम्बोधन गर्न संसद्को भूमिका महत्त्वपूर्ण हुने बताइन्।
उनले अधिकांश राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको र अब व्यवस्थापन मुख्य चुनौती रहेको बताउँदै संसद् सञ्चालनले पीडितका समस्या सम्बोधन गर्न नीतिगत दबाब सिर्जना गर्ने बताइन्।
भोटेकोशीको बाढी र कृष्णभिरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाका अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव हुन सक्ने भन्दै थापाले सरकारलाई आपूर्ति व्यवस्था सहज बनाउन तत्काल पहल गर्न आग्रह गरिन्।
उनले संकटको समयमा कालोबजारी तथा मूल्यवृद्धि नगर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्दै अवरुद्ध राजमार्ग खुलाउन र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प ल्याउने विश्वास व्यक्त गरिन्।





प्रतिकृया दिनुहोस्