December 13, 2025, Saturday
२०८२ मंसिर २८

एमालेको एघारौं महाधिवेशन आजबाट, उद्घाटन ओलीले गर्ने

काठमाडौँ : एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुँदै छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबार सुरु हुन लागेको हो।

भक्तपुरको सल्लाघारीमा हुने समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महसचिव शंकर पोखरेलले सांगठिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको प्रतिवेदनमाथि ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । उनले केन्द्रीय कार्यालयमा ‘अवधारणा–पत्र’ दर्ता गराइसकेका छन् ।

अवधारणा–पत्रमा ओलीको कार्यशैलीको आलोचना गर्दै पार्टीको आन्तरिक लोकतन्त्रको सवाल उठाइएको छ । पोखरेल अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिने तयारीमा छन् । विश्लेषकले यस महाधिवेशनलाई २०६५ मा भएको बुटवलको आठौं महाधिवेशनसँग तुलना गरेका छन् ।

राजनीतिक, वैचारिक र नेतृत्वको प्रतिस्पर्धाका सन्दर्भ दुई महाधिवेशनलाई उनीहरूले तुलना गरेका हुन् । आठौं महाधिवेशनमा ओलीले नेतृत्वका लागि प्रतिस्पर्धा मात्र गरेका थिएनन्, फरक राजनीतिक दस्तावेजसमेत प्रस्तुत गरेका थिए । उनी अध्यक्ष पदमा झलनाथ खनालसँग पराजित भएका थिए ।

आठौं महाधिवेशनले ओलीको पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव गरेको थियो । ०५९ मा जनकपुरको सातौं महाधिवेशनमा पनि ओलीले पार्टीको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव पेस गरेका थिए तर पारित भएन ।

राजनीतिक विश्लेषक झलक सुवेदी एघारौं महाधिवेशनले परम्परागत नेतृत्वलाई चुनौती दिएकाले आठौं महाधिवेशनसँग मेल खाएको बताउँछन् । ‘आठौं महाधिवेशनमा परम्परागत नेतृत्वलाई ओलीले चुनौती दिएका थिए । यो महाधिवेशनमा ओलीलाई ईश्वर पोखरेलले वैचारिक र नेतृत्वमा पनि चुनौती दिँदै छन्,’ उनले भने ।

नेपालको राजनीतिक परिदृश्यका हिसाबले पनि यो महाधिवेशन चुनौतीपूर्ण रहेको सुवेदीको भनाइ छ । ‘जेन–जी आन्दोलनले एमाले नेतृत्वको सरकारलाई विस्थापन गरेको बेला महाधिवेशन हुँदै छ । जेन–जी आन्दोलनलाई लिएर एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि नै प्रश्न उठिरहेको छ । जेन–जी आन्दोलनले २०६४ पछिका राजनीतिक दल र संविधानमाथि प्रश्न उठाएको हो । यो भिन्न परिस्थितिमा नेतृत्वको सोच भने परम्परागत देखिन्छ,×’ उनी भन्छन्, ‘राजनीतिक रूपमा उठेका प्रश्न हल नगरी महाधिवेशनबाट निस्किँदा देशको नेतृत्व गर्न गाह्रो हुन्छ ।’

साउन २०७१ मा भएको नवौं महाधिवेशन भने ओलीका लागि राजनीतिक कार्यदिशा र नेतृत्व लिन सहज अवस्था भयो । ओलीले १५ वर्ष पार्टी महासचिव भइसकेका माधव नेपाललाई अध्यक्ष पदमा पराजित गरेका थिए । मंसिर २०७८ मा चितवनमा भएको दसौं महाधिवेशनमा ओलीले पार्टी जीवनको लोकतन्त्रलाई नाम मात्रको बनाइसकेका थिए । त्यस महाधिवेशनमा संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेका भीम रावल, घनश्याम भुसाल एमालेमा अटाउन नसक्ने अवस्था बन्यो ।

अहिलेको महाधिवेशनमा संस्थापनविरुद्ध उत्रिएका वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य कर्ण थापाको राजनीतिक भविष्यबारे चर्चा हुन थालेको छ । पोखरेलले निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्ने बताउँदै आएका छन् ।

एमाले चौथो महाधिवेशनको कार्यदिशाअनुरूप अघि बढिरहेको छ । भदौ २०४६ मा सिरहामा भएको तत्कालीन मालेको चौथो राष्ट्रिय महाधिवेशनले नयाँ जनवादको सट्टा बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई अंगीकार गर्ने नीति अघि सारेको थियो । त्यसलाई पाँचौं महाधिवेशनले अनुमोदन गरेको थियो । माघ २०४९ मा काठमाडौंमा भएको पाँचौं महाधिवेशनले मदन भण्डारीबाट अघि सारिएको जनताको बहुदलीय जनवाद (जबज) लाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गरेको थियो । एघारौं महाधिवेशनले पनि जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ ।

जिल्ला, पार्टीका विभाग, भ्रातृ संगठनबाट निर्वाचित तथा केन्द्रीय कमिटीमा रहेका गरी २ हजार १५४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन् । निर्वाचित प्रतिनिधि संख्याको पाँच प्रतिशत अर्थात् १ सय ८ जना केन्द्रीय सचिवालयले मनोनयन गर्ने व्यवस्था छ । केन्द्रीय सल्लाहकार परिषद्का ३ सय ९ जना पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् ।

महाधिवेशनमा ४० वर्षमुनिका १८.४ प्रतिशत अर्थात् ३ सय ९६ प्रतिनिधि रहेका छन् । सबैभन्दा धेरै प्रतिनिधि ५०–५९ उमेर समूहका ३४ दशमलव ८ प्रतिशत छन् । ४०–४९ वर्ष समूह २७.५ प्रतिशत (५९३ जना), ५०–५९ वर्षका ३४.८ प्रतिशत (७५० जना) र ६०–७९ वर्ष समूहका १७.३ प्रतिशत (३७३ जना) छन् । ७० वर्षमाथिका महाधिवेशन प्रतिनिधि १.९ प्रतिशत (४२ जना) छन् ।

पोलिटब्युरो सदस्य भानुभक्त ढकालका अनुसार महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन हुँदै छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई महाधिवेशन उद्घाटन समारोहमा आमन्त्रण गरिएको बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईले जानकारी दिए । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

मञ्चमा सम्पदा र ओलीको ‘कटआउट’

महाधिवेशन उद्घाटनका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलाई सिँगारिएको छ । चाँगुनारायण, ललितपुरको कृष्ण मन्दिर, भक्तपुरको न्यातपोल, पचपन्न झ्याले, पशुपतिनाथ, धरहरालगायत सम्पदाका चित्रले मञ्च सिँगारिएको मञ्च व्यवस्थापन समितिका संयोजक नेता विनोद श्रेष्ठले जानकारी दिए । ‘मञ्चमा काठमाडौंको राम्रो दृश्य देख्न सकिन्छ,’ उनले भने ।

मञ्चमा अध्यक्ष केपी शर्मा ओलीको ‘कटआउट’ राखिएको छ । महाधिवेशनको लोगोमै धरहराको चित्र छ । एमाले अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई गौरवका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

कान्तिपुरबाट