November 4, 2025, Tuesday
२०८२ कार्तिक १८

महाधिवेशनकाे तनावमा कांग्रेस नेता : फरकफरक कार्यतालिका प्रस्तुत हुने भएपछि बैठक स्थगित

काठमाडौँ : नेपाली कांग्रेसका नेताहरूबिच पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक शुक्रबार बस्न सकेन। असोज २८ मा सुरु केन्द्रीय समिति बैठक बिचमा झन्डै दुई साता स्थगन भएको थियो। बिहीबारदेखि पुनः सुरु भएको बैठक शुक्रबार फेरि स्थगित भएको हो।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श नगरी पुसमा महाधिवेशन गर्ने प्रस्ताव शुक्रबारको बैठकमा पेस गर्ने तयारी गरेका थिए। त्यसको प्रतिवाद गर्दै सहमहामन्त्री महेन्द्र यादवले पनि अर्को कार्यतालिका पेस गर्न कार्यवाहक सभापतिसँग समय मागेका थिए। महामन्त्री र सहमहामन्त्रीको फरकफरक प्रस्ताव पेस हुने अवस्था आएपछि शुक्रबारको बैठक स्थगित गरी आइतबारका लागि सारिएको हो।

देश दुनियाँ कांग्रेसले आन्तरिक राजनीति र फागुन २१ गतेको निर्वाचनबारे के निर्णय गर्छ भन्ने पर्खाइमा रहेका महामन्त्री र सहमहामन्त्री फरकफरक कित्तामा उभिनु राम्रो नभएको एक केन्द्रीय सदस्यले बताए। ती सदस्यले भने, ‘महाधिवेशनबारे महामन्त्री र सहमहामन्त्रीबाट फरकफरक प्रस्ताव आउनुले पार्टी हित हुँदैन। सहमतिमा चल्नुपर्छ।’

अर्का एक सदस्यले सहमतिबाटै महाधिवेशनको कार्यतालिका ल्याउन बैठक स्थगित गरिएको बताए।

केन्द्रीय समितिमा महाधिवेशनबारे सहमतिमा प्रस्तुत हुन शुक्रबारै बोलाइएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महामन्त्रीहरूले निर्वाचनअघि नै पुसमा महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने बताएका थिए। निर्वाचनअघि महाधिवेशन गर्ने महामन्त्रीहरूको प्रस्तावको प्रतिवाद गर्दै सहमहामन्त्री यादवले निर्वाचनअघि नियमित वा विशेष महाधिवेशन सम्भव नरहेको तर्क गरेका थिए।

उनले निर्वाचनअघि महाधिवेशन गर्ने महामन्त्रीको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुने भए आफूले पनि निर्वाचनपछि नियमिति महाधिवेशन गर्नुपर्ने प्रस्ताव राख्न पाउनुपर्ने कुरा पदाधिकारी बैठकमा राखेको जानकारी एक नेताले दिए।

महामन्त्रीद्वय थापा र शर्मा मंसिर र या पुसमा नियमित महाधिवेशन हुनुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा छन् तर सभापति शेरबहादुर देउवा निकट नेताहरू फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

देउवा पक्षधर नेताहरू अहिले पार्टीको सम्पूर्ण ध्यान फागुन २१ को निर्वाचनमा केन्द्रित गर्नुगर्ने भएकाले वैशाख जेठमा महाधिवेशन गर्नेगरी तालिका ल्याउने पक्षमा छन्  तर महामन्त्रीद्वय निर्वाचनअघि नै नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

महाधिवेशन मिति विवाद पेचिलो बन्न पुगेपछि शुक्रबार बिहान नेता शेखर कोइरालाले आफू निकट पदाधिकारीका साथै महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए। छलफलमा उनले छिटो र छोटो बाटोबाट नियमित महाधिवेशन गर्नुपर्ने पुरानै कुरा दोहोर्‍याए। उनले आफू निकट नेताहरूलाई सोही अनुसार तयारी गर्न र पार्टीका अन्य नेताहरूसँग पनि छलफल गर्न भनेका थिए।

मंसिरमा नियमित महाधिवेशन सम्भव नभएको तर्क गर्दै महामन्त्रीद्वय ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार पुसको दोस्रो साता विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारीमा रहेको निकट स्रोतको दाबी छ।

महामन्त्री शर्माका तर्फबाट बिहीबार नै महाधिवेशनका लागि विभिन्न विकल्पसहितको प्रस्ताव बाहिर ल्याइएको थियो तर संस्थापन पक्ष फागुन २१ गतेको निर्वाचनअघि नियमित वा विशेष महाधिवेशनमा जान राजी छैन। संस्थानपन पक्षको यसको तयारीप्रति असन्तुष्ट महामन्त्री थापा बिहीबार पार्टी कार्यालय पुगे पनि केन्द्रीय समिति बैठकमा सहभागी भएनन्। यसले कांग्रेसभित्रको आन्तरिक विवाद चुलिन पुगेको बुझिन्छ। विशेष महाधिवेशन पक्षधरले केन्द्रीय समितिमाथि दबाब बढाउन आइतबार राजधानीमा भेला तयारी गरेको छ।

उक्त भेला जसरी पनि नेतृत्व हत्याउनुपर्छ भन्ने मनसायले डाकिएको आरोप लगाउँदै संस्थापन पक्षका एक नेताले भने, ‘पहिला देश अनि पार्टी त्यसपछि साथी अनि मात्र आफू (व्यक्ति) हुनुपर्ने हो तर अहिले अरु जेसुकै होस् मचाहिँ बन्नुपर्छ भन्ने कुराले पार्टी नै समस्यामा पर्ने देखियो।’

विशेष महाधिवेशन पक्षधरले भने यस्तो आरोपमा सत्यता नभएको दाबी गर्दै आएको छ। एक नेताका अनुसार महाधिवेशनको तनावलाई पार्टीको हितमा निकास दिनुपर्छ। नागरिकबाट