April 18, 2026, Saturday
२०८३ बैशाख ५

जेन-जी प्रदर्शन अब कसरी अघि बढ्छ ?

काठमाडौँ : सोमबारको घटनापछि जेन–जीको प्रदर्शनले अब कस्तो मोड लिनेछ भन्नेबारे आन्दोलनका अगुवाहरूले फरक मत राखेका छन् । सुशासन र समान अवसरको मागसहित देशका विभिन्न भागमा जेन–जीले गरेको प्रदर्शनले दुःखद मोड लिएपछि उनीहरू सशंकित, विचलित र थप आक्रोशित पनि देखिएका छन् । अभिभावकहरूमा भय पैदा भएको छ ।

सामाजिक सञ्जालमा ‘नेपो किड’ का रवाफलाई कुरीकुरी गरिरहेका उनीहरू पहिलो पटक सडकमा उत्रिएका थिए । अगुवा नभएको यस अभियानको व्यवस्थापन गर्न अग्रसर भएका ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङ साथीभाइको बीभत्स मृत्यु र रगताम्मे भएर अस्पताल पुगेका भाइ–बहिनीलाई देख्दा मन दुखे पनि आवेग नथामिएको प्रतिक्रिया दिन्छन् । उनी यो आन्दोलन अब झनै सशक्त तरिकाले अघि बढ्ने बताउँछन् । आफूहरूले प्रधानमन्त्रीकै राजीनामा माग गर्ने उनले सुनाए ।

‘अब भोलिदेखि विद्यार्थीहरू कोही पनि स्कुल/कलेज जाँदैनन्,’ गुरुङले भने, ‘देशमा परिवर्तन नभएसम्म विद्यार्थीहरू स्कुल जाँदैनन् । भविष्य नै छैन भने विद्यार्थीले पढेर के गर्ने ?’ उनले १९ जना युवाको ज्यान गएकोमा जवाफदेहिता माग गर्न आन्दोलन हुने बताए । ‘अब योजनाबद्ध तरिकाले विरोध जनाउँछौँ,’ उनले भने, ‘इन्डोनेसियामा हप्तौं विरोध हुँदा दुई जनाले ज्यान गुमाएका थिए, नेपालमा एकै दिन १९ जना मारिए ।’ अब

युवाको अगुवाइमा हुने नयाँ राजनीतिक नेतृत्व चाहेको उनको भनाइ थियो ।

आन्दोलनमै सहभागी अर्की एक किशोरीले अब सडक जाने आँट नभएको बताइन् । उनले सामाजिक सञ्जालबाट खबरदारी गर्न भने नछोड्ने अठोट लिएकी छन् । ‘हामी र हाम्रा अभिभावकले तिर्ने करमा भ्रष्टाचार गरेर आफ्ना छोराछोरीलाई देश–विदेशमा पढ्न, घुम्न पठाउने, ब्रान्डेड लुगा लगाउने, हामीलाई चाहिँ सिटामोल किन्न पनि लाइन लगाउने कुराको अन्त्य हुनैपर्छ,’ उनले भनिन्, ‘यसबारे सोसल मिडियाबाटै प्रश्न पठाउने सोच छ । सडकमा जाँदा धेरै थोक मिसिने रहेछन् ।’

अधिकांश जेन–जीले सोमबारको घटनालाई इतिहासकै कालो दिनका रूपमा वर्णन गरेका छन् । आँखै अगाडि साथीभाइ गुमाएर हतास भावमा घर पुगेका उनीहरू साँझ ह्वाट्सएप फर्वाडले थप विचलित बने । ह्वाट्सएपमा प्रहरीहरू प्रदर्शनमा गएका युवाको घर–घरमै पुगेर धरपकड गरेको दृश्य सेयर हुन थालेपछि कतिपयले बोल्नसमेत आनाकानी गरे । कान्तिपुरले सम्पर्क गरेका केही युवाका अभिभावकले फेरि फोन नगर्दिन आग्रह गरे । थप आवाज उठाउँदा वा मिडियासँग बोल्दा प्रशासनले दुःख दिने डर उनीहरूमा थियो ।

जेन–जी पुस्ताका रूपमा युवा आशा बोकेर संसद् भवनतर्फ मार्च गरेका थिए, समानता र सुनिश्चित भविष्यको माग गर्दै थिए । स्वतन्त्रता, विद्रोह र साहसको प्रतीक मानिने ‘वान पिस’ नामक एनिमेबाट प्रभावित ‘जली रोजर’ झन्डा र पोस्टर बोकेर घरबाट बिहानै निस्किएका उनीहरू अश्रुग्यास र गोली खाएर घर फर्किए । यो सबै दृश्य भोगेकी रोशना नकर्मी त्यसले डरलाग्दो अनुभूति गराएको बताउँछिन् । ‘हामी सुरक्षित क्षेत्रमा फर्कनुपर्‍यो, केबल यो डरले कि हामी आफूलाई गुमाउनेछौं,’ उनी भावुक हुन्छिन्, ‘हामीले आज साथी मात्रै होइन, आशा र विश्वास पनि गुमाएका छौं । हाम्रा साथीहरू घर फर्कने छैनन् । उनीहरूको हाँसो अब उनीहरूको घरमा गुन्जने छैन ।’

अराजकता, चिच्याहट, गोली चलेको आवाज र विद्यार्थीहरू भागेको दृश्य आफ्नो मानसपलटबाट मेटाउन नसकिरहेको उनले बताइन् । ‘यो डरलाग्दो, हृदयविदारक र क्रोधित पार्ने कुरा हो, मेरो देशमा सुशासन र समान अवसरको माग गर्दा ज्यान जान सक्छ,’ उनले भनिन्, ‘नेपालका सडकहरू आज रगतले मात्र होइन, टुटेको विश्वासले पनि रंगिएका छन् । तर मेरा साथीको मृत्युमा पनि उनीहरूको आवाज गुन्जिरहनेछ । उनीहरूको संघर्ष अब ‘हाम्रो’ संघर्ष र उनीहरूको मौनता ‘हाम्रो’ सबैभन्दा ठूलो आवाज बन्नेछ ।’

आन्दोलनका क्रममा देशभर कैयौं युवा घाइते भए । काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय आमन मगर सोमबार भ्रष्टाचारविरोधी आन्दोलन गर्दा देश बन्छ भन्ने आशाले माइतीघर पुगेका थिए । उनले देश बनाऔं भनेर जाँदा गोली खाएको बताए । ट्रमा सेन्टरमा भेटिएका उनको हातमा गोली लागेको थियो । डाक्टरले अपरेसन गर्नुपर्छ भनेको उनले बताए । ‘राम्रो देश बन्नुपर्छ, मेरो माग यही हो,’ उनको भनाइ थियो, ‘देश बनाऔं भनेर गएको हो, गोली खान होइन ।’ बानेश्वरमा आकाशे पुलमा उभिएका उनले ढुंगामुढा नगरेको र कुनै गल्ती नगरेको अवस्थामा पनि आफूमाथि गोली प्रहार भएको गुनासो गरे ।

यस्तै, १९ वर्षीय रोनिश रेग्मीलाई टाउकोमा रबरको गोली लागेको थियो र उनी ट्रमा अस्पतालमा उपचाररत थिए । काठमाडौंमा कक्षा १२ मा पढ्दै गरेका रेग्मी आफ्ना भाइसँग आन्दोलनमा गएका थिए । भ्रष्टाचार रोक्नुपर्ने, युवाले आफ्नै देशमा रोजगार पाउनुपर्ने र सर्वसाधारणले तिरेको करको दुरुपयोग हुनुहुँदैन भन्ने मान्यतासहित जेन–जी आन्दोलनमा पुगेको उनले बताए । आन्दोलन भइरहँदा अचानक टाउकोमा रबरको गोली लागेर आफू बेहोस भएको र पछि एम्बुलेन्समा राखेर अस्पताल ल्याएको कुरा भाइले फोन गरेर बताएपछि मात्र थाहा पाएको उनले उल्लेख गरे ।

यसैबीच, जेन–जी मुभमेन्ट नेपालले सूचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको थियो । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो,’ विज्ञप्तिमा भनिएको छ, ‘न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबर्जस्ती प्रवेशको प्रयासले प्रभावित भयो ।’ तर, यो आफ्नो मूल उद्देश्य कहिल्यै नभएको उनीहरूले स्पष्ट पारे । जेन–जी मुभमेन्टले आफ्नो आवाज शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै भएको जनाएको छ ।

युवाको अभियानमा सोमबारको घटनापछि समर्थन र ऐक्यबद्धता भने बढेर गएको छ । देश विदेशमा रहेका नेपालीसँगै कलाकार, खेलाडी, अभियन्ता, अधिकारकर्मी, नागरिक समाजका अगुवा लगायतले जवाफदेहिताको माग गर्दै जेन–जीको सरोकार सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् । कान्तिपुरबाट