April 18, 2026, Saturday
२०८३ बैशाख ५

गभर्नरमा विश्वनाथ पौडेल नियुक्त: चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो ।

रकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिएका हुन। तीन जनाको नाम सिफारिस भएको थियो । मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको उनले बताए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो। उक्त छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।

उनको नियुक्तिसँगै राष्ट्र बैंकमा डेढ महिनापछि नयाँ नेतृत्व पाएको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो । 

को हुन गभर्नर नियुक्त भएका प्रा.डा. पौडेल ?

२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा विश्व पौडेलको जन्म भएको हो । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । शेरबहादुर देउवाको नेतृत्वमा २०७९ सालको चुनावअघि बनेको सरकारमा उनी आयोगको सदस्य भएका थिए । 

पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन् । यसअघि उनी सोही विश्वविद्यालयमा करिब ४ वर्ष भिजिटिङ प्रोफेसर र करिब साढे ५ वर्ष सहायक प्रोफेसरको रूपमा काम गरेका थिए । 

त्यसअघि उनी राष्ट्रिय योजना आयोगकै सदस्य तथा वरिष्ठ अर्थशास्त्रीको भूमिकामा थिए । विश्व बैंकमा अल्पकालीन परामर्शदाता र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको भूमिकामा काम गरेको उनको अनुभव छ । 

उनले यसअघि सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा काम समेत गरेका छन् । 

त्यस्तै उनले इसिमोडको बोर्ड अफ गभर्नर्स, कोलम्बो प्लान काउन्सिल, एसिया प्यासिफिक क्षेत्रीय आर्थिक समन्वय तथा एकीकरणका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका प्रमुख आर्थिक सल्लाहका रूपमा समेत काम गरेका थिए । उनले अन्तर्राष्ट्रिय विभिन्न जर्नलहरूमा अनुसन्धनात्मक लेखहरू प्रकाशित गरेका छन् ।   

राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।  निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए । कांग्रेसबाट उम्मेदवार भएको कारणले उनलाई पार्टीको सदस्य रहेको भन्दै उनको नियुक्ति विरुद्ध अदालतमा मुद्दा दायर गर्न खोजिएको थियो । तर, सर्वोच्चले उनी विरुद्धको मुद्दा दरपीठ सदर गरिदिएको छ ।

पौडेल अर्थशास्त्र र इतिहासका अध्येता हुन् । वित्त नीतिमा विशेष दख्खल भएका उनी शेयर बजारप्रति सकारात्मक व्यक्ति मानिन्छन् । मौद्रिक क्षेत्रमा भने उनको तुलनात्मक रूपमा न्यून अनुभव छ । यद्यपि पौडेलको नियुक्ति हुने खबरले सेयर बजार आज झन्डै ५० अंकले बढेको छ । यसले उनीप्रति समेत लगानीकर्ताको धारणा सकारात्मक रहेको देखिएको छ । 

नवनियुक्त गभर्नर पौडेललाई बैंकिङ क्षेत्रमा रहेको उच्च तरलता समस्या र बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रिय कर्जाको समस्या अन्त्य गर्नुपर्ने चुनौती छ । देश सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा रहेको अवस्थामा देशको मौद्रिक क्षेत्रको नेतृत्व गर्ने निकायको प्रमुखको हैसियतले यसबाट बाहिर ल्याउने काममा उनको प्रमुख भूमिका हुनेछ । त्यस्तै, देशको आर्थिक स्थायित्व, मूल्य नियन्त्रण तथा बैंक तथा वित्तीय संस्थाको नियमनलाई चुस्त बनाउने अहिलेको आवश्यकता देखिन्छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको पुँजीको प्रतिफल क्रमशः घट्दै गएको छ । त्यसलाई सुधार गर्दै उपभोक्तामैत्री र सुलभ बैंकिङ सेवा उपलब्ध गराउनु उनको प्रमुख चुनौती रहेको देखिन्छ ।