September 2, 2026, Wednesday
२०८३ भाद्र १७

अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित इन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीले अंग्रेजी शिक्षकको माग गर्दै प्रधानाध्यापकसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेका छन्।

विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्। पटक–पटक अंग्रेजी शिक्षकको व्यवस्था गर्न माग गर्दा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थीहरूले बुधबार विद्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका थिए।

आन्दोलनका क्रममा विद्यार्थीहरूले प्रधानाध्यापक गोपाल बोगटीसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेर च्यानल गेटमा तालाबन्दी गरेका थिए। उनीहरू करिब एक घण्टा ३० मिनेटसम्म कार्यकक्षभित्रै थुनिएको प्रधानाध्यापक बोगटीले बताए।

उनका अनुसार विद्यालयमा तीन महिनादेखि अंग्रेजी शिक्षकको अभाव छ। निजी स्रोतबाट शिक्षक राख्न विद्यालयसँग पर्याप्त आर्थिक स्रोत नभएकाले समस्या समाधान गर्न नसकिएको उनले बताए।

‘विगत तीन महिनादेखि अंग्रेजी शिक्षकको अभाव छ। निजी स्रोतमा शिक्षक राख्न आर्थिक स्रोत छैन,’ प्रधानाध्यापक बोगटीले भने, ‘हामी कार्यालयमा बसिरहेका थियौँ। एक्कासि आन्दोलित विद्यार्थीले मलगायत शिक्षकहरूलाई च्यानल गेटमा ताला लगाएर करिब एक घण्टा ३० मिनेट थुने।’

विद्यार्थीहरूले अंग्रेजी शिक्षकको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयमा पटक–पटक माग गर्दै आएको बताएका छन्। तर, आफ्नो मागप्रति विद्यालय व्यवस्थापन समिति र धनगढी–१८ का वडा अध्यक्ष भुवन रिजालले बेवास्ता गरेको उनीहरूको आरोप छ।

विद्यार्थीहरूले अंग्रेजी शिक्षकको माग पूरा गर्न नसकिने र पढ्न समस्या भए अर्को विद्यालय जानुपर्ने आशयको गैरजिम्मेवार अभिव्यक्ति वडा अध्यक्ष रिजालबाट आएको आरोपसमेत लगाएका छन्। सोही विषयलाई लिएर विद्यार्थीहरूले वडा अध्यक्षविरुद्ध समेत नाराबाजी गरेका थिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बहुलियाको टोली विद्यालय पुगेको थियो। विद्यार्थीहरूले प्रधानाध्यापक र शिक्षकहरूलाई कार्यकक्षभित्र थुनेर नाराबाजी गरिरहेको अवस्थामा प्रहरी विद्यालय पुगेको इलाका प्रहरी कार्यालय बहुलियाका प्रमुख भीम भट्टले बताए।

‘आन्दोलित विद्यार्थीले प्रधानाध्यापक र शिक्षकहरूलाई थुनेका रहेछन्। विद्यार्थीहरू नाराबाजी गरिरहेका थिए,’ भट्टले भने, ‘हामी विद्यालयमा पुगेपछि विद्यार्थीसँग समन्वय गरी प्रधानाध्यापकसहित शिक्षकहरूलाई बाहिर निकाल्यौँ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।’

विद्यार्थीहरूले अंग्रेजी शिक्षकको अभावका कारण लामो समयदेखि आफ्नो पठनपाठन प्रभावित हुँदै आएको बताएका छन्। उनीहरूले तत्काल अंग्रेजी शिक्षकको व्यवस्था गरी नियमित पठनपाठनको वातावरण बनाउन माग गरेका छन्।

विद्यालयमा विषयगत शिक्षकको अभाव समाधानका लागि विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र सम्बन्धित शिक्षा शाखाबीच समन्वय आवश्यक देखिएको छ।