February 27, 2026, Friday
२०८२ फाल्गुन १६

‘सगरमाथा संवाद-२०२५’ को तयारी अन्तिम चरणमा, ३ सय विदेशी पाहुनालाई निम्तो

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न आयोजना गर्न लागिएको ‘सगरमाथा संवाद २०२५’ को तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादको मुख्य थिम ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ । तीनदिने सगरमाथा संवादमा जलवायु परिवर्तनसम्बन्धी ५ वटा विषयमा १२ वटा सत्र र तीनवटा ‘प्लेनरी’ कार्यक्रम सञ्चालन हुनेछन् ।

संवादमा सहभागी हुनका लागि ३ सय जना विदेशी पाहुनालाई निम्तो दिइसकेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । ‘तयारीका धेरै नै चरण पूरा भइसकेका छन् । तर गर्नुपर्ने महत्त्वपूर्ण काम बाँकी नै छ,’ उनले भने, ‘साथै संवादमा सहभागी हुन धेरै पाहुनलाई हामीले निम्ता गरिसकेका छौं । कतिपयले स्वीकार गर्नुभएको छ भने निम्तालाई स्विकार्ने क्रम जारी छ ।’

आमन्त्रित पाहुनालाई ‘प्लेनरी’ मार्फत आफ्ना विषयहरू राख्नलाई सम्पूर्ण व्यवस्था गरिएको उनले सुनाए । ‘यसबाट के अपेक्षा गर्न सक्छौं भने, सबै देशहरूले आफ्नो कुरा यहाँ राख्न पाउनुहुन्छ,’ उनले थपे, ‘सम्बन्धित देशका प्रतिनिधिहरूले आफ्नो चासोका विषयमा कुरा राख्ने व्यवस्था गरेका छौं । यो एक–अर्कालाई सिक्ने र सिकाउने अवसर हुनेछ ।’

‘सगरमाथा संवाद एप’ मा दर्ता अनिवार्य

कार्यक्रममा सहभागी हुन ‘सगरमाथा संवाद एप’ अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सुरुमा गुगल लिंकमार्फत फारम भर्नुपर्नेछ । मिडियाका लागि लिंकमार्फत फारम भर्ने समय वैशाख २२ सम्म रहेको छ ।

लिंकमा आफ्नो नाम, काम गर्ने संस्था, इमेल, प्रेस प्रतिनिधिपत्र र आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ । अपलोड भएका डकुमेन्टस् संवाद सचिवालयको मिडिया हेर्ने समितिले आधिकारिकता प्रमाणित गरी एपको लिंक सम्बन्धित व्यक्तिको इमेलमा पठाउनेछ ।

यो लिंक पाइसकेपछि मात्र एप डाउनलोड गर्न मिल्ने जनाइएको छ । तर, हाल एप्पल प्रयोगकर्ताका लागि मात्र उक्त सुविधा उपलब्ध भएको सचिवालयले जनाएको छ । एन्ड्रोइड प्रयोगकर्तालाई पनि एप डाउनलोड गर्ने अनुमतिका लागि संवाद सचिवालयले निवेदन दिइसकेको जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं संवाद सचिवालयका सदस्य नमराज घिमिरेले प्लास्टिक र पेपरको कम प्रयोग गर्न डिजिटल अभ्यासलाई प्रोत्साहन गर्न एपको प्रयोग गरिएको बताए ।

सचिवालयले सुरक्षा मापदण्डका कारण विदेशी सहभागी संख्या, नाम, वक्ताको विवरण भने अहिले सार्वजनिक नगरिएको जनाएको छ ।

जलवायु परिवर्तनको मुद्दा उठाउन र पर्वतीय मुलुकका तर्फबाट नेपालले नेतृत्वदायी भूमिका खेल्न सगरमाथा संवाद आयोजना गरिँदै छ । कोभिड–१९ कारण अन्तिम चरणमा रोकिएको कार्यक्रम करिब ५ वर्षपछि हुन लागेको हो ।

संवादमा टापु राष्ट्र, छिमेकी मुलुक, जलवायु परिवर्तनले असर परेको राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख, वनमन्त्री, विज्ञ, विकास साझेदारलगायतलाई नेपालले आमन्त्रित गर्ने जनाइएको छ ।

संवादको अन्तिम दिन भने सगरमाथा संवादमा छलफल भएका विषय समेट्दै काठमाडौं घोषणा पत्र सार्वजनिक गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ८ मा राजदूत, अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधि र विकास साझेदारको उपस्थितिमा सगरमाथा संवादको घोषणा गरेका थिए । कान्तिपुरबाट