कृष्णभिर पहिरोको भार उपभोक्तामाथि, ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ बढ्यो

काठमाडौं । कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगिएको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ।
नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको ग्यासको उपभोक्ता मूल्य अब २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
नेपाल एलपी ग्यास उद्योग संघले १८ भदौको वार्षिक साधारणसभाको निर्णयअनुसार मूल्य बढाइएको जनाएको छ। संघका अनुसार राजमार्ग अवरुद्ध भएपछि काठमाडौंका उद्योगले तराईमा ग्यास रिफिल गरेर वैकल्पिक माध्यमबाट ल्याउनुपर्ने भएकाले ढुवानी लागत बढेको हो।
संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले वैकल्पिक ढुवानीमा प्रतिसिलिन्डर करिब १८० रुपैयाँ अतिरिक्त खर्च भए पनि उपभोक्ताबाट १०५ रुपैयाँ मात्र थप गरिएको दाबी गरे।
नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासको खरिद दर नबढेको, ढुवानी लागत बढेकाले मूल्य बढाइएको बताए। उनका अनुसार वास्तविक अतिरिक्त खर्च २०० रुपैयाँभन्दा बढी भए पनि आयल निगमको प्रावधानअनुसार १०५ रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने उद्योगदेखि ५० किलोमिटरभन्दा बढी दूरीमा हुने अतिरिक्त ढुवानी खर्च उद्योगीले मूल्यमा जोडेर लिन पाउने व्यवस्था विगतदेखि नै रहेको बताए। उनका अनुसार निगमले ५० किलोमिटर दूरीसम्मको ढुवानी खर्च समेटेर ग्यासको मूल्य निर्धारण गर्छ।





प्रतिकृया दिनुहोस्