निगमको ट्विनअटरले आज टीकापुर विमानस्थलमा परीक्षण उडान गर्दै

काठमाडौँ । २७ वर्षदेखि बन्द रहेको कर्णाली नदी छेवैको टीकापुर विमानस्थलमा आज नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले पुनः परीक्षण उडान गर्दै छ ।
निगमका कप्तान उज्वल सिलवाल र मनिष विष्टले नेपालगन्जबाट ट्विनअटरलाई टीकापुरमा अवतरण गराउँदै छन् । ‘जहाज सिमकोट गएको छ, नेपालगन्जमा रहेका क्याप्टेन सिलवालले भने,‘त्यसपछि जुम्लाको उडान गरेर टीकापुरमा टेस्ट फ्लाइट गर्दैछौं ।’
उनका अनुसार नेपालगन्जबाट टीकापुर ३८ माइल (६१ किलोमिटर) हवाई दुरीमा पर्छ । ‘६ हजार ५ सय फिट उचाइमा रहेर आँखाको सहायताले गरिने दृश्यात्मक (भीएफआर) उडान गर्ने योजना छ,’ सिलवालले भने,‘त्यहाँ पुगेर जहाजको उडान अवतरणका अवरोध, हावाको गति, तौल आदिबारे अध्ययन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रतिवेदन बुझाइने छ ।’
यो परीक्षण उडानका लागि प्राधिकरणबाट उपनिर्देशक ज्ञानेन्द्र भुल, एयरओर्दिनेस अफिसर सम्राट प्रधान, फ्लाइट अपरेसन इन्स्पेक्टरलगायतको टोली नेपालगन्जबाट टीकापुर निगमको ट्विनअटर विमानमा जाँदै छ ।
पर्यटन मन्त्रालयबाट परीक्षण उडानको संयोजन गरीरहेका पर्यटन राज्यमन्त्री अरुण चौधरी आइतबारै टीकापुर पुगिसेका छन् ।
‘आजको परीक्षण उडानपछि टीकापुरलाई सुदुरपश्चिम प्रदेशको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को हव विमानस्थल बनाउने योजना छ,’ राज्यमन्त्री चौधरीले भने,‘यहाँबाट अपी, साइपाल हिमाल, कैलाश मानसरोवरको हवाइ अवलोकन गराउने प्रदेश सरकारका लागि बाटो खुला हुनेछ ।’
परीक्षण उडानका लागि टीकापुर नगरपालिकाले सोमबार त्यहाँ थारु संस्कृति प्रदर्शनी, नाचगानलगायतको कार्यक्रम आयोजना गरेको छ ।
कर्णाली नदी र पारी पट्टी जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज तथा भारतसँग नजिकै सीमा जोडिएकाले टीकापुर विमानस्थलको सम्भावन रहेको त्यहाँका स्थानीय सरकार प्रमुखले केन्द्रीय सरकारलाई बुझाउँदै आएका ज्ञापनपत्रमा उल्लेख छ।
समुद्रि सतहबाट २ सय ४३ मिटर उचाइमा रहेको टीकापुर विमानस्थलको धावनमार्गको लम्बाई ५ सय ७३ मिटर रहेको छ ।
माओवादी विद्रोह सुरु भएपछी ०५४ सालपछि टीकापुरमा उडान रोकिएको थियो । त्यसअघि त्यहा नेपाल वायुसेवा निगमको १९ सिटको ट्विनअटरले अछामको साँफेबगरबाट उडान गर्थ्यो । कान्तिपुरबाट
प्रतिकृया दिनुहोस्