कांग्रेसमा समानान्तर महाधिवेशन, देउवा-खड्का-शेखर बैठकमै गएनन्

काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी अघि बढाइएको छ। सभापति गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका अघि सारेको हो।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको १५औँ महाधिवेशन तयारी समितिको बैठकमा निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरीले छुट्टै कार्यतालिका प्रस्तुत गरेका हुन्। बैठकको अध्यक्षता शशांक कोइरालाले गरेका थिए।
प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५, पालिका अधिवेशन असोज २०, प्रदेशसभा/प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज २३, जिल्ला अधिवेशन कात्तिक १५ र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने उल्लेख छ। केन्द्रीय महाधिवेशन भने मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ।
बैठकमा प्रकाशशरण महत, पद्मनारायण चौधरी, सीता गुरुङ, मोहन बस्नेत, शिव हुमागाईं, गुरू बराल, रंगमती शाही र कान्छाराम तामाङलगायतले धारणा राखिसकेका छन्। बाँकी नेताहरूको धारणा लिएर संशोधनसहित कार्यतालिका पारित गर्ने तयारी छ।
तर छुट्टै महाधिवेशनको प्रस्ताव भएको बैठकमा निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला सहभागी छैनन्। खड्का र शेखरनिकट नेताहरू पनि बैठकमा अनुपस्थित छन्।
देउवा पक्षले सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन रोक्न अस्वीकार भएपछि समानान्तर महाधिवेशनको तयारी अघि बढाएको हो। साउन २९ देखि ३१ गतेसम्म भएको राष्ट्रिय भेलाले शशांक कोइरालालाई महाधिवेशन तयारी समितिको संयोजक बनाउने निर्णय गरेको थियो।
यसबीच कांग्रेसमा दुई छुट्टाछुट्टै महाधिवेशन हुने सम्भावना बढेको छ। नेता मीनबहादुर विश्वकर्माले दुवै पक्षले महाधिवेशन गरेर नेतृत्व अद्यावधिकका लागि निर्वाचन आयोग जाने अवस्था आउन सक्ने बताएका छन्। त्यसपछि कुन पक्षलाई आयोगले मान्यता दिने भन्ने विवाद उत्पन्न हुन सक्ने उनको भनाइ छ।
सभापति गगन थापाले भने भदौ २० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। कांग्रेसले भदौ १९ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम अवसर दिएको छ। कार्यतालिका हेरफेर नभए भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ।





प्रतिकृया दिनुहोस्