March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सेयर बजारमा नयाँ कीर्तिमान : एकै दिन २२ अर्बको कारोबार

काठमाडौँ । नेपालको सेयर बजारमा ‘नयाँ रेकर्ड’ कायम भएको छ। कारोबार मूल्यका दृष्टिकोणले एकै दिन सबैभन्दा धेरै करिब २२ अर्ब रूपैयाँ मूल्यबराबरको सेयर किनबेच भएर बुधबार कीर्तिमान कायम भएको नेप्सेले जनाएको छ।

१९१ कम्पनीको सेयरमूल्य बढ्दा बुधबार एकै दिन २१ अर्ब ९१ करोड १५ लाख रूपैयाँको कारोबार भएको छ। यो एकै दिनको कारोबारका हिसाले अहिलेसम्मको सबैभन्दा धेरै हो। यसअघि २०७८ भदौ २ गते नेप्से ३१९९.०३ पुग्दा एकै दिन नेप्सेमा २१ अर्ब ६४ करोड रूपैयाँबराबरको कारोबार भएको थियो।

बुधबार नेप्से ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा पुगे पनि कारोबारका दृष्टिकोणले नयाँ रेकर्ड कायम भएको हो। लगानीकर्ताको उत्साहले सेयर बजारमा नयाँ रेकर्ड कायम भएको नेप्सेका सूचना अधिकारी मुराहरि अधिकारीले बताए। ‘यसअघि एकै दिन नेप्सेमा २१ अर्ब ६४ करोड रूपैयाँसम्मको कारोबार भएको थियो,’ उनले भने, ‘बुधबार पुरानो रेकर्ड तोडेर २१ अर्ब ९१ करोड रूपैयाँको कारोबार भयो।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्ने चर्चासँगै उकालो लागेको सेयर बजार निरन्तर बढेको छ। संयुक्त सरकारप्रतिको विश्वास, अर्थमन्त्री पौडेलको सेयर बजारमैत्री अभिव्यक्ति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति पुँजीबजारका पक्षमा देखिएपछि सेयर बजारमा उछाल आएको छ।

सरकारको पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण रहेकाले सेयर बजारमा उछाल आएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। ‘मौद्रिक नीतिका सकारात्मक प्रावधानले तीन वर्षदेखि प्यानिक रहेको बजारमा अहिले उत्साह आएको छ,’ पोखरेलले भनिन्, ‘नराम्रा कम्पनीको पनि मूल्य उचालिएकाले जोखिम पनि छ।’

अहिले सेयर बजारमा ‘बुल मार्केट’ चलिरहेको छ । लगानीकर्ता उच्च मनोबल बनाएर लगानी गरिरहेका छन्। मूल्यका हिसाबले मात्र नभएर कारोबार कित्ताले पनि रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको छ। बुधवार पाँच करोड ९ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यो अहिलेसम्मकै सर्वाधिक कारोबार कित्ता हो। यसअघि ४ करोड ७७ लाख कित्तासम्म सेयर किनबेच भएको थियो।

बुधबार पाँच करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने सात कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। आइतबार दुईपटक सकारात्मक सर्किट ब्रेक लगाएको सेयर बजार सोमबार, मंगलबार, बुधबार पनि निरन्तर उकालो लाग्यो। आइतबार ११३.०७ अंकले बजार बढेको थियो भने सोमबार २०.६३ अंकले घट्दै बजारमा करेक्सन भएर मंगलबार ३५.५५ अंकले बढेर बजार २६९६.६५ बिन्दुमा पुगेको थियो।

नेप्से सूचक एक महिनाकै अवधिमा ३५.५३ प्रतिशतले बढेको छ। यो अहिलेसम्मकै धेरै हो । यसअघि २०१२ अप्रिल महिनामा नेप्से ३५.४१ प्रतिशतले बढेको थियो। नेप्सेले अहिले उक्त रेकर्ड पनि तोडेको छ। एक महिनाअघि २०३७ बिन्दुमा रहेको नेप्से बुधबार २७६० बिन्दुमा पुगेको छ।

कारोबार रकमका हिसाबले हिमालयन रि–इन्स्योरेन्स सबैभन्दा अघि छ। हिमालय रिको एकै दिन ८४ करोड ४९ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ । १० स्टकको सेयर सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ।

युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, इन्भेस्टमेन्ट एन्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्येश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, ११ स्टकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

खुद नाफा, प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी राम्रो भएका कम्पनीको मूल्य बढ्नु स्वाभाविक भए पनि यी सूचक कमजोर भएका कम्पनीको सेयर मूल्य पनि निरन्तर बढेको छ। यसले सेयर बजार जोखिममा अघि बढेको सरोकारवालाको टिप्पणी छ। बजार बढ्यो भनेर जुन पायो त्यही कम्पनीमा लगानी नगरी राम्रो कम्पनी छानेर लगानी गर्नुपर्ने विज्ञको सुझाव छ।

मौद्रिक नीति सेयर बजारमैत्री भएकाले पनि कारोबार बढ्न सघाउ पुगेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको क्याप पूर्ण रूपमा हटाउने निर्णय गरेको थियो। तीन वर्षअघि सेयर धितो कर्जामा चार र १२ करोडको क्याप लगाएर यस्तो कर्जा घटाउने रणनीति रहेको राष्ट्र बैंकले अहिले ती क्याप हटाएर पुनः कर्जा बढाउने नीति लिएको छ। नागरिकबाट