April 17, 2026, Friday
२०८३ बैशाख ४

कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

अछाम : कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि रहेका छन् ।

बिहीबार (वैशाख ३) बेलुकाको समयमा कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णालीमा एक्कासि डुंगा पल्टँदा त्यसका चालक पहलसिंह र सवार उनका छोरा बेपत्ता भएको प्रहरीले जनाएको हो ।

बेपत्ताको खोजीकार्यका लागि विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख खनाले जानकारी दिएका छन् ।