April 19, 2026, Sunday
२०८३ बैशाख ६

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार (आज) बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले यो बैठक बोलाएको हो।

यसअघि पार्टीले उनलाई विज्ञप्ति जारी नगर्न निर्देशन दिएको थियो। बैठकमा कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति खड्कालाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

खड्काले भने विज्ञप्ति मार्फत ‘पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन’ भन्ने अडान राखेका छन्। पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न लागेको हो ।

केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक शीर्ष नेताले जानकारी दिए ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।

यसैगरी, दिउँसो २ बजे सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि तय गरिएको छ। बैठकमा मुख्य रूपमा वैशाख ४ गते हुने संसदीय दलको नेता चयन, १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा छलफल हुनेछ। 

पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयलाई बैठकको मुख्य एजेन्डा बनाइएको छ।