प्रधानमन्त्री बालेनले भने- ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन्।
मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना दिएका हुन।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन् ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचनलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन् । उनले सृष्टिकी मुहान आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन् ।
आमा जीवनको पहिलो गुरू अनि अनन्त ममताकी स्रोत आमा भएको प्रधानमन्त्री बालेनले बताएका छन्।
‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन्।





प्रतिकृया दिनुहोस्