जाजरकोट भूकम्प : राहत घोषणा जारी, सवा १२ करोडको प्रतिबद्धता

काठमाडौँ । जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको भूकम्पमा परेका पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि आइतबारसम्म विभिन्न निकायले करिब १२ करोड रुपैयाँ र अन्य राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही राहत सामग्री वितरण भइसकेको छ भने नगद सहयोग पनि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमार्फत जम्मा भइरहेको छ ।
छिमेकी राष्ट्र भारत, चीन, प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत निजी संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि सहयोग घोषणा गरिरहेका छन् । यसअनुसार आइतबार साँझसम्म कोषमा करिब १२ करोड रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ ।
सरकारले भूकम्पपीडितको राहत एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन आग्रह गरेको छ । कोषको खाता रहेका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक, कृषि विकास बैंक, रामशाहपथ, नेपाल बैंक, एभरेस्ट बैंक, नयाँ बानेश्वर, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, लाजिम्पाट, ग्लोबल आईएमई बैंक, ज्ञानेश्वर, हिमालयन बैंक, ठमेल र कमलादी, नबिल बैंक, दरबारमार्ग छन् ।
गण्डकी प्रदेशले पीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनाए ।
भूकम्पबाट प्रभावित क्षेत्रमा आपत्कालीन मानवीय सहायताका लागि औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा महानगरपालिकाले शनिबार नै भूकम्पबाट घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । महानगरपालिकाले भूकम्प प्रभावितलाई ५० लाख नगद सहयोग गर्ने घोषणा पनि गरिसकेको छ । पीडितलाई आईएमई ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेडलगायत आईएमई समूहद्वारा प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेसनमार्फत भूकम्पबाट प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ नगद सहयोग रकम घोषणा गरेको हो ।
एनआईसी एसिया बैंकले पनि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा उक्त रकम नगद सहयोग गर्ने घोषणा गरेको हो । भूकम्प पीडितलाई प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार सहयोग गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूकम्पपीडितलाई पार्टीका तर्फबाट २५ लाख र आफ्ना सांसदको १ महिनाको तलब दिने भएको छ । कांग्रेस सांसदले पनि आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । कांग्रेसले पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा शनिबार नै गरिसकेको छ ।
निर्माण व्यवसाय विकास परिषद्ले पनि भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ दिने भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले पनि १० लाख प्रदान गर्ने भएको छ । एनआरएनएका संस्थापक उद्यमी जीवा लामिछानेको लगानी रहेको ट्रिप इन होटल समूह (जर्मनी) ले पनि पीडितका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि उक्त सहयोग उपलब्ध गराउने घोषणा लामिछानेले सामाजिक सञ्जालमार्फत गरेका छन् ।
यसैबीच मोरङको आरजु राइस मिलले १० टन चामल दिने भएको छ । १० लाख बराबरको चामल बेलबारी नगर प्रमुख दिलप्रसाद राईमार्फत आइतबार पीडितलाई राहतस्वरूप प्रभावित क्षेत्रमा पठाएको मिलका महाप्रबन्धक विवेकानन्द झाले बताए । उक्त मिल बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको हो । बुद्ध एयरले एक करोड रकम सहयोग गर्ने घोषणा गरिसकेको छ ।
युनिलिभर नेपालले पनि राहत सामग्री दिने भएको छ । उसले आफ्ना उत्पादन हर्लिक्स, सुप, औषधोपचार सामग्री, ७ सय थान ब्ल्यांकेट, २५० थान पाल र थप खाद्यान्न भूकम्पपीडितलाई वितरण गरिएको बताइएको छ । नेपाल उद्योग परिसंघले उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थालाई भूकम्पबाट प्रभावित नागरिकलाई राहत एवं पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न अपिल गरेको छ । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्