खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन, बाबा रामदेव पनि सहभागि हुने

धनगढीः प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा प्रथम अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । यसवर्षको गंगा दशहरा मेलाको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो । यही जेठ २३ देखि २५ गतेसम्म सम्मेलन सञ्चालन हुने भएको छ ।
सम्मेलनको तयारी अन्तर्गत बिहिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल आयोजक समारोह समिति गठन भएको छ ।
समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरु, प्रदेश सरकारका मन्त्री, सांसदहरु, पूर्व सांसदहरु, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुखहरु, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत नीजि क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिहरु आयोजक समितिमा छन् ।
सम्मेलनमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसदका सांसदहरु, बाबा रामदेव, आचार्य बालकृष्णलगायत अन्तर्राष्ट्रिय तहका अध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने निश्चित भएको मुख्यमन्त्री शाहले बताए ।
सम्मेलन आयोजनाका लागि प्रदेश सरकार अन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । सोही समितिले सम्मेलन आयोजनाको सम्पूर्ण तयारी गर्ने मुख्यमन्त्री शाहले बताए । साथै १५ वटा विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।





प्रतिकृया दिनुहोस्