एक महिनामै चार अमेरिकी महिला अधिकारीहरूको नेपाल भ्रमण तय : दुई जना आइसके, दुई आउँदै

काठमाडौँ । पछिल्लो एक महिनामा चार अमेरिकी महिला अधिकारीहरू नेपाल भ्रमण तय भएको छ । दुई जना आइसकेका छन् ।थप दुई जना आउँदै छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट लगातार भ्रमण हुन थालेको हो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल आएकी छिन् । उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पनि हुन् । पावरपछि अमेरिकाबाट अर्का दुई वरिष्ठ अधिकारी आउने तय भएको छ । उच्च स्रोतका अनुसार फागुन पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारले नेपाल भ्रमण गर्न लागेका हुन् । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइटहाउसअन्तर्गत रहेको छ ।
यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उप सहायक राज्यमन्त्री अख्तरले दक्षिण एसिया मामिलामा नेपाल, श्रीलंका, बंगलादेश र मालदिभ्समा संक्रमणकालिन व्यवस्था र सुरक्षा मामिला हेर्दे आएकी छन् । उनले नेपालको दुईदिने भ्रमण गर्न लागेकी हुन् ।
वरिष्ठ निर्देशक लाउबाचारको भ्रमणका लागि गृहकार्य भइरहेको कूटनीतिक स्रोतले जनाएको छ । रियर एडमिरल उपरथीसरहको पद हो । नेपाल भ्रमणको गृहकार्य गरिरहेकी लाउबाचारले मंसिर २३ मा वासिङ्टन डीसीस्थित नेपाली दूतावास पुगेर राजदूत श्रीधर खत्रीलाई समेत भेटिसकेकी छन् । उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ । लाउबाचारले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् ।
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य नेपालमा वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बनेपछि त्यसलाई बुझ्ने र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालित परियोजनाका विषयमा अमेरिकी अधिकारीहरूको चासो बढेको बताउँछन् । ‘नेपालमा निर्वाचनका कारण केही महिना भ्रमण भएन, रोकिएका भ्रमणहरू पनि अहिले भएका हुन सक्छन्,’ पूर्वराजदूतसमेत रहेका आचार्यले भने, ‘तर यी भ्रमणका उद्देश्य के हुन् भन्ने प्रस्ट पार्नुपर्छ । भ्रमणमा आउँदा नै उद्देश्यबारे प्रस्ट पारेर आउनु उपयुक्त हुन्छ ।’
उनले नेपालजस्तो मुलुकमा कुनै पनि शक्ति राष्ट्रका अधिकारीले चाहेका बेला भ्रमण गर्न सक्ने बताए । ‘नेपालमा लगातार भ्रमण गर्दा हाम्रा छिमेकी पनि छन् र त्यसको प्रभाव के हुन्छ भन्नेबारेमा ध्यान दिनुपर्ने हुन्छ,’ उनले भने । आचार्यले अमेरिकाबाट राजनीतिक, आर्थिक सहयोग तथा सुरक्षाका अधिकारीहरू आउनुमा त्यहाँका फरक–फरक निकायले फरक–फरक काम गर्नु रहेको बताए । ‘त्यहाँ एमसीसी कार्यालय, यूएसएआईडीको कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय तथा रक्षा मन्त्रालयहरूले आ–आफ्नै हिसाबमा काम गर्ने कारणले भ्रमण बाक्लिएको हुन सक्छ,’ उनले भने ।
दुई साताअघि नेपाल भ्रमण गरेकी उपमन्त्री नुल्यान्डले नेपालका उच्च पदाधिकारीसँगको भेटवार्तापछि मुख्य तीन सन्देश प्रवाह गरेर फर्केकी थिइन् । उनले अमेरिकाको नेपालमा चासो भनेको लोकतान्त्रिक दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउँदै लैजाने भएको बताएकी थिइन् । संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीन लक्षित सन्देश प्रवाह गर्दै नुल्यान्ड फर्केकी थिइन् ।
मंगलबार नेपाल आएकी यूएसएआईडीकी प्रमुख पावरले भ्रमणका दौरान नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो बनाउने प्रयास र उपलब्धिबारे छलफल गर्नेछिन् । पावरले नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने यूएसएआईडीले जनाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्नेछिन् ।
पावरले यूएसएआईडीको जिम्मेवारी सन् २०२१ मे ३ बाट सम्हालेकी हुन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो ।
भूराजनीतिक जानकार तथा अवकाशप्राप्त उपरथी पूर्ण सिलवाल लगातारका भ्रमणले दिएको एउटा सन्देशचाहिँ अब दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र साउथ चाइना समुद्र क्षेत्रमा अमेरिकी चासो बढिरहेको मान्छन् । उनले यी क्षेत्रमा चासो बढ्नुको कारण चीन भएको बताए । ‘नेपाल मात्र होइन, बंगलादेश र श्रीलंकालगायत मुलुकमा पनि अमेरिकी चासो बढिरहेको छ,’ उनले भने, ‘नेपालमा चीन र अमेरिकाको डिप्लोम्याटिक सटल बढेको छ । यहाँ भूराजनीतिक प्रतिस्पर्धा बढिरहेको छ । द्वन्द्व भइरहेका बेला शक्तिशाली मुलुकहरूले आफ्ना पक्षमा आओस् वा न्युटल भएर बसिदियोस् भन्ने चाहना हुन्छ ।’
युरोपेली आयुक्त उर्पिलाइनेन पनि बुधबार आउँदै
अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित युरोपेली संघ (ईयू) को दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि ईयूबाट हुन लागेको यो पहिलो उच्च भ्रमण हो । आयुक्त उर्पिलाइनेन नेपालमा युरोपेली संघका विभिन्न कार्यको सुरुआत गर्न आउन लागेको ईयूले जनाएको छ ।
‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु, युक्रेनमाथि रुसको आक्रामक युद्धले नेपाललगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ ईयूले जारी गरेको विज्ञप्तिमा आयुक्त उर्पिलाइनेनले भनेकी छन्, ‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु । ईयू आफ्ना साझेदारहरूलाई अघि बढाउन डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंकहरू बढाउन तथा विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न सकारात्मक छ ।’
नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) को स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्त्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । सन् २०२१ देखि २०२७ सम्म नेपालका लागि युरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ । एमआईपीमार्फत युरोपेली संघले नेपाल सरकारको अनुरोधअनुसार कोभिड–१९ महामारीको प्रभावबाट मुक्त हुन नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान दिने ईयूले जनाएको छ । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्