April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘नेपाल लगानी सम्मेलन–२०२२’ सम्पन्न : युवा लगानीकर्ता अभिवृद्धिमा निजीक्षेत्रको अग्रसरता

काठमाडौँ : युवा पुस्तालाई उद्यमशील बनाउँदै लगानीकर्ताका रूपमा विकास गर्न राज्य उदासीन छ। राज्यका नीतिहरू नै उद्यममैत्री तथा लगानीमैत्री नहुँदा युवा जनशक्ति कि त बेरोजगार भई देशभित्रै थन्किरहेको छ, कि त परदेश भासिन बाध्य छ।  

मूलधारका राजनीतिक दलहरू जो राज्यको बागडोर सम्हालेर बसेका छन्, उनीहरू उद्यमशील भन्दा राजनीतिक युवा उत्पादन गर्न उद्यत छन्। जसको प्रभाव देशको अर्थतन्त्रमा परेको छ। देशभित्रै निर्यातमुखी उत्पादन बढ्नु त कहाँ हो कहाँ, दैनिक उपभोग्य सामग्रीका लागि पनि परनिर्भर हुनुपरिरहेको छ। दिनानुदिन बढ्दै गएको व्यापारघाटाले अर्थतन्त्र जटिल अवस्थामा पुर्‍याएको छ।  

राज्य यसरी उदासीन बनिरहेका बेला निजीक्षेत्रले नै एउटा जमर्को गरेको छ। त्यसै अन्तर्गतको एक कार्यक्रम हो– सोमबार सम्पन्न ‘नेपाल लगानी सम्मेलन–२०२२’  

जानकी ग्लोबल फाउण्डेसन र नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स इण्डष्ट्रीले सहकार्य गरेर यो सम्मेलन आयोजना गरेका हुन्। दुईदिनसम्म चलेको यो सम्मेलन लगानीको चेतना र वित्तीय साक्षरता अभिवृद्धिका लागि सञ्चालन गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।  

‘युवा पुस्तालाई लगानीकर्ताका रूपमा विकसित गर्नु राज्यको दायित्व त हो नै, यसबाहेक उद्योगी व्यवसायी एवं लगानीकर्ताहरूको अगुवा संस्थाहरूको पनि कर्तव्य हो,’ आयोजक संस्था नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स इन्डष्ट्रीका अध्यक्ष शोभा ज्ञवालीले भनिन्, ‘यही कर्तव्य सम्झिएर हामीले युवा पुस्तालाई लगानीकर्ताका रूपमा विकास गर्न र उनीहरूलाई मानसिक रूपमा पनि तयार पार्न सकिने गरी यो सम्मेलनको आयोजना गरेका हौं।’  

युवा जनशक्तिलाई देशभित्रै लगानी गर्न उत्प्रेरित गर्ने र देशमै आफू स्वरोजगार बन्दै थप रोजगारी सिर्जना गर्न सक्षम नागरिक बनाउने अपेक्षासहित सम्मेलन आयोजना गरिएको अर्को आयोजक संस्था जानकी ग्लोबल फाउण्डेसनकी संस्थापक जानकी गुरुङले बताइन्।

सफल व्यक्तिका अनुभव आदान–प्रदान  

दुईदिन चलेको यो सम्मेलनमा उद्यम तथा लगानी क्षेत्रमा लाग्न इच्छुक एक सय ५० जना युवा तथा विद्यार्थीहरूले सहभागिता जनाएको आयोजकले जनाएका छन्। उनीहरूमाँझ नेपालभित्रै र नेपालबाहिर सफल भएका उद्यमी तथा लगानीकर्ताहरूले आफ्नो सफलता प्राप्ति गरेका अनुभवहरू सुनाएका थिए। यसबाहेक उनीहरूले लगानीकर्ता बन्नका लागि उपलब्ध अवसर, चुनौतीहरू तथा आइडियाहरू पनि सेयर गरेका थिए।  

सोमबारको कार्यक्रममा पूर्वमन्त्री एकानाथ ढकालले नेपालको संविधानमै स्वदेशी लगानीलाई प्राथमिकता दिने विषय किटानीका साथ राखिएकाले नयाँ लगानीकर्ताहरूका लागि अवसर रहेको बताएका थिए।  

‘संविधानमै प्रष्ट व्यवस्था गरेका छौं तर सत्तामा लामो समय भएका दलहरूका कारण केही समस्या देखिएको छ,’ उनले भने, ‘त्यसबारे सबै जुट्ने हो भने समाधान हुन्छ।’ यद्यपि राज्यमा संविधान अनुकूलका अन्य ऐन, नियम तथा नीतिहरू नहुँदा राज्यको अर्थतन्त्र निराशाजनक दिशामा अघि बढेको उनले बताए। अहिले अर्थतन्त्रमा देखिएको तरलतासम्बन्धी समस्यालाई श्रीलंकाको अवस्थामा पुग्न लागेको भनेर गरिएको हल्ला निराधार रहेको बताउँदै उनले भने– ‘बैंकिङ क्षेत्रबाट यो समस्या भएको देखिन्छ।’  

अहिलेको अवस्थामा व्यापार घाटा बढ्दै गएको बताउँदै पूर्वमन्त्री ढकालले त्यसका लागि निर्यातमुखी उत्पादनमा लगानी गर्न लगानीकर्ताहरूलाई सुझाव दिए। साना र युवा लगानीकर्ताहरूले कृषि र पर्यटनजन्य व्यवसायमा लाग्दा सफलता पाउनसक्ने उनको सुझाव थियो।  

नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्स इन्डष्ट्रीका अध्यक्ष ज्ञवालीले लगानीमा इच्छा राखेका नयाँ युवाहरूले सुरुमा सफल लगानीकर्ताको मातहतमा बसेर काम गर्दा धेरै कुरा सिक्न पाउने बताइन्। ‘पढ्दै गरेका युवाहरूले सुरुमा अनुभवी लगानीकर्ताको मातहतमा बसेर काम गर्दा धेरै कुरा सिक्न सक्छन्,’ उनले भनिन्, ‘त्यसपछि त्यहाँबाट परिपक्व ज्ञान र सीप हासिल गरेर आफ्नोमा प्रयोग गर्दा सफल लगानीकर्ता बन्ने सम्भावना प्रबल हुन्छ।’  

सरकारले पनि युवा उद्यमी तथा लगानीकर्ताहरूको विकास गर्न ११/१२(विद्यालय तह)मा नै सीपमूलक कक्षाहरू सञ्चालन गर्नुपर्ने उनले बताइन्। ‘महामारीका बेला नेपालमा दक्ष तथा प्राविधिक कामदारको चरम अभाव देखियो। भारत, बंगलादेश वा पाकिस्तानबाट आउने कारिगरहरू फर्किदाँ नेपालको व्यवसाय नै चौपट भयो,’ उनले भनिन्, ‘सरकारले यस्ता प्राविधिक जनशक्ति तयार पार्नेखालका जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने देखिन्छ।’ यस्ता जनशक्ति उत्पादन हुँदा महामारी तथा अन्य कुनै समस्या पर्दा पनि देशभित्रका उद्योगहरूले समस्या नझेल्नुपर्ने र त्यस्तो जनशक्ति विदेश जाँदा पनि राम्रो रोजगारी पाउने उनको धारणा थियो। अध्यक्ष ज्ञवालीले औपचारिक तथा अनौपचारिक रूपमा नयाँ युवाहरूलाई बेला–बेला सीपविकासका तालिम, अनुभवी उद्यमी तथा लगानीकर्ताहरूको अनुभव आदान–प्रदान लगायतका कार्यक्रमहरू गर्नुपर्ने बताइन्।  

यसबाहेक पुँजी निर्माण, लगानी र बैंकको ऋण तथा सरकारको अनुदानका विषयमा युवाहरूलाई अभिमुखीकरण, प्रशिक्षण तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि उनको जोड थियो। ‘सरकारले बेलाबेला नीति तथा कार्यक्रम बनाउँदा युवालक्षित ऋण तथा अनुदानका कार्यक्रमहरूको घोषणा त गर्छ तर त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिदैन्। सरकारले यस्ता कुराहरूमा ध्यान दिनुपर्छ,’ उनले भनीन्।  

पूर्वसांसद छायाँ शर्माले लगानीमैत्री वातावरण बनाउन र देशभित्र लगानी प्रवद्र्धन गर्न राज्यका कानूनहरूले भूमिका खेल्ने बताइन्। ‘अहिलेको अवस्थामा तीनतहका सरकार र विभिन्न सरकारी निकायहरूको निर्माणले सरकारमा सबैको पहुँच त बढेको छ तर केही कानूनी जटिलताहरू भने छन्, त्यसलाई सरकारले सम्बोधन गर्नुपर्छ।’ यद्यपि लगानी गर्न इच्छुक युवाहरूले पहुँचमा भएको सरकारलाई घच्घच्याएर लगानीमैत्री वातावरणका लागि आफैं पहल गर्नसक्ने बताइन्। प्रकाशन व्यवसायी उपेन्द्र खड्काले दृढ इच्छाशक्ति भए युवाहरूले गर्नसक्ने प्रशस्त ठाउँहरू रहेको बताए। सरकारका जिम्मेवार अंग तथा निकायहरू राजनीतिले थिलथिलो भएको अवस्थामा पनि आफू सफल भएको उदाहरण दिँदै निरन्तरको मेहनत र सघंर्ष गरे सम्भव रहेको बताए।  

सम्मेलनमा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको अवस्थाका विषयमा बंगलादेशी व्यवसायी डा मोहम्मद अक्रम चौधरीले एकसमय विश्वकै अत्यन्त गरिब देशमा रहेको बंगलादेश राज्यको नीतिका कारण ‘बेङ्गल टाइगर’का रूपमा स्थापना भएको सुनाए। उनले भने, ‘यो कसरी सम्भव भयो भन्दा हाम्रो सरकारको व्यापार, लगानी र परराष्ट्र नीतिका कारण हो। सरकारले राम्रो नीति बनायो। नीजिक्षेत्र ऊर्जाशील भएर काममा जुट्यो। त्यसैको बलमा हामी बेङ्गल टाइगर भयौं।’ बंगलादेशी लगानीकर्ता अहिले नेपालमा लगानी गर्न चाहिरहेको उनले बताए। उनीहरूको चाहना पर्यटन र छाला प्रशोधनमा बढी रहेको उनले सुनाए।  

यस्तै बेलायत बसेर वित्तीय परामर्शदाताको रूपमा काम गरिरहेका विकास चुडालले सरकारले वातावरण बनाए विश्वका ठूला लगानीकर्ताहरूले पनि नेपालमा लगानी गर्न चाहिरहेको बताए। आफू संलग्न कम्पनीले नेपालका ठूला जल विद्युत्का क्षेत्रमा काम गर्न चाहेको पनि उनले सुनाएका थिए।  

दुईदिन चलेको सम्मेलनमा करिब दर्जनभन्दा बढी सफल लगानीकर्ता, अनुभवी व्यक्तिहरू, कानूनी तथा वित्तीय परामर्शदाता तथा नीतिनिर्माण तहमा बसेका व्यक्तिहरूले आफ्ना विचारहरू राखेका थिए। सहभागीहरूले लगानी कसरी गर्ने, कसरी जुटाउने, योजना छनोट गर्दा कसरी गर्ने? लगायतका विषयमा जिज्ञासा राखेका थिए।  

सम्मेलनको आयोजनापछि सहभागी तथा सरोकारवालाबाट निकै सकारात्मक प्रतिक्रिया आएको जानकारी आयोजक संस्था नेपाल–फिलिपिन्स चेम्बर अफ कमर्सका अध्यक्ष ज्ञवालीले दिइन्। ‘यस्ता कार्यक्रमहरू बेलाबेला भइरहुन् भन्ने सहभागीहरूको सुझाव रह्यो,’ उनले भनिन्, ‘सहभागीमध्ये अधिकांशको चासो स्टक, आइपीओ वा सेयरबजारमा बढी रहेको पाइयो। हामीले त्योभन्दा पनि उद्यमशील लगानी जहाँ रोजगारी उत्पादन होस् त्यसमा बढी फोकस हुने गरी अनुशिक्षण दिने प्रयत्न गर्‍यौ।’ नागरिक दैनिकबाट