डोटीको चुनावी अंकगणित : कहाँ कुन पार्टी जित्ने सम्भावना ?

दिपायल : कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित रूपमा नेकपा एमालेले बहुमत पालिकामा कब्जा जमायो । यसमा एमालेको लोकप्रियताभन्दा बढी कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण थियो ।
एमालेले तुलनात्मक रूपमा कांग्रेस बलियो ठानिएका दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिका सहित जोरायल र आदर्श गाउँपालिका जितेको थियो ।
कांग्रेस तीन पालिकामा सीमित हुनपुग्यो । जसमा शिखर नगरपालिका, केआईसिँह गाउँपालिका र बडीकेदार गाउँपालिका रहेका छन् ।
तुलनात्मक रूपमा एमाले बलियो ठानिएको बोगटान गाउँपालिकामा एमालेभित्रको कलह नेकपा माओवादी केन्द्रका लागि फलदायी सावित भयो । जहाँ माओवादी केन्द्रले जित हासिल गरेर आफ्नो अस्थित्वको बचाएको थियो ।
६५ वडामध्ये एमालेले ३२ वटा वडा जित्दा कांग्रेसले २९ र माओवादी केन्द्रले ४ वटा वडा जितेको थियो । २०७४ को यो नतिजा अब इतिहास भइसक्यो । अब वैशाख ३० गते अर्को स्थानीय तह निर्वाचन हुँदैछ ।
२०७४ का त्यो निर्वाचनको नतिजाबाट दलहरूले सिक्नुपर्ने तमाम पाठहरू जरुर हुनसक्छन् । त्यतिबेलाको समिकरण अहिलेको निर्वाचनका लागि तथ्यांक केलाएर नयाँ रणनीति बनाउँन अवश्य काम लाग्नेछन् । जसबाट नयाँ नतिजापनि अनुमान लाउन सहज हुनसक्ने आधार पनि दिन्छन् ।
यो सामाग्रीमा २०७४ को त्यही नतिजाको समिकरण र दलहरूको वर्तमान अवस्थाका बारेमा चर्चा गरेका छौँ । जसले डोटीको वैशाख ३० को निर्वाचनको नतिजाका लागि धारणा बनाउन सहज हुने छ ।
यद्यपी सत्तारूढ गठबन्धनबीचमा हुनसक्ने चुनावी तालमेलले भने यसमा केही असर पर्नसक्छ । यसैबीचमा मंगलबार जिल्लामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर जाने भनेका छन् । तर त्यो त्यति सम्भव देखिदैन् । अहिलेको परिपेक्ष्यमा तुलनात्मक रूपमा सबै पालिकामा कांग्रेस हावी हुँदा उसले सहजै छाड्नसक्ने ठाउँ बिरलै छन् । जसले तालमेलको सम्भावना घटाउछ ।
दिपायल सिलगढी नगरपालिका
यो नगरपालिकामा कांग्रेस निकै सहज ढंगबाट निर्वाचन जित्ने अनुमान गरिएको थियो । कांग्रेसबाट टिकटको चर्चा हुँदा झण्डै एकदर्जन बढीले मेयरमा दाबी गरेका थिए । पार्टीले अन्ततः तत्कालीन क्षेत्रीय सभापति बाजीसिँह खड्का (विजय) लाई टिकट दियो ।
उनले टिकट पाएपछि मेयरका अन्य आकांक्षीले ठूलै रोष देखाए । मेयरमा आकांक्षा राखेका धेरैले अन्तघात गरेको चर्चा छ । केही पार्टी छाडेरै पनि गए । कांग्रेसभित्रको यो अन्तर्घातको फाइदा एमाले उम्मेदवार मञ्जु मलासीले उठाइन् । यद्यपी उनको जित भने धेरै फराकिलो थिएन् । जम्मा २ सय ७६ मतको अन्तरले खड्कासँग जितेकी थिइन् ।
नगरपालिकामा त्यतिबेला कुल १५ हजार एक सय ५ मत थियो । जसमध्ये १० हजार २ दुईसय ४३ मत खस्दा ८ हजार ९ सय ४५ मत सदर भएको थियो । यसमध्ये मलासीले ४ हजार ४ सय २८ मत पाउँदा कांग्रेसका खड्काले ४ हजार एकसय ५२ मत पाएका थिए । यस्तै मेयरकै अन्य प्रत्यासीहरूमा माओवादी केन्द्रका प्रेमबहादुर नेपालीले ७ सय ३७, राप्रपाका कर्ण द्वारियाले १ सय ४८ मत पाएका थिए ।
उपमेयरमा एमालेका शिवराज खड्काले ४ हजार ५ सय ३६ मत ल्याउदा कांग्रेसकी प्रसिस महराले ४ हजार ९३ मत मात्रै पाएकी थिइन् ।
वडाध्यक्षमा ९ मध्येमा वडा नम्बर १, ५, ६ र ९ गरी ५ मा एमाले र वडा नम्बर २, ३, ४ र ८ गरी ४ वडामा कांग्रेस जितेको थियो ।
यसपटक पनि यो नगरमा कांग्रेस–एमालेकैबीचमा प्रतिस्पर्धा देखिन्छ । यद्यपी विगतकोभन्दा कांग्रेसको अवस्था सुदृढ देखिदाँ एमालेको विभाजनको अवस्थाकाले तुलनात्मक रूपमा कांग्रेस नै अगाडि देखिन्छ ।
एमालेबाट जितेका मेयर र उपमेयर नै अहिले अलग–अलग पार्टीमा छन् । मेयर मलासी एमालेमा छिन भने, उपमेयर खड्का नेकपा एकीकृत समाजवादीमा छन् । यस्तै एमालेका शक्तिशाली नेता पूर्व जिल्ला अध्यक्ष नारद मलासी पनि नेकपा एसमैँ गएका छन् । यसरी विभाजित एमालेले कांग्रेसको सामना गर्नु निकै चुनौतीपूर्ण देखिएको छ ।
यता सत्तारूढ गठबन्धन दलबिचमा तालमेल भएपनि यो नगर कांग्रेसकै भागमा पर्ने निश्चित छ । नभए माओवादी केन्द्रका तर्फबाट दिपायलका व्यवसायी खगेन्द्र साउँद(केबी) निर्वाचन लड्ने भनेर प्रचारमा जुटेका छन् । उनले माओवादी केन्द्रको पार्टी मतमा व्यक्तिगत रूपमा केही थप्नसक्ने देखिन्छ । यद्यपी त्यो मत निर्णायक हुनसक्ने देखिदैन् ।
अहिले यो नगरमा अघिल्लो निर्वाचनकोभन्दा तीन हजार ७ सय ६ मत थपिएर कुल मतदाता संख्या १८ हजार ८ सय ११ पुगेको छ ।
शिखर नगरपालिका
अघिल्लो निर्वाचनमा यो नगरमा स्वभाविक रूपमा जिल्लाको स्थानीय तहहरूमा सबैभन्दा ठूलो अन्तरले मेयरमा कांग्रेसका सीताराम जोशी निर्वाचित भएका थिए ।
कांग्रेस तत्कालीन केन्द्रीय सदस्य वीरबहादुर बलायर, पूर्वमन्त्री भक्तबहादुर बलायर, पूर्व जिल्ला पार्टी सभापति योगेन्द्र शाही लगायतका घघडान नेताको गृह नगरमा कांग्रेसको सो नतिजा स्वभाविक थियो । बरु कांग्रेसले अपेक्षाभन्दा घटेर केही वडामा अस्वभाविक हार व्यहोरेको थियो । उपमेयरमा कांग्रेसकै धौलीदेवी रावले जितेकी थिइन् ।
कांग्रेस उम्मेदवार जोशीले ५ हजार ३ सय ५३ मत ल्याएर विजयी बन्दा एमालेका शेरबहादुर मल्लले ४ हजार ४ सय ३७ मतमात्रै प्राप्त गरेका थिए । उनीहरूबीचको अन्तर ९ सय १६ रहेको थियो । मेयरमै माओवादी केन्द्रका रमेशप्रसाद जोशीले ९ सय २९ मतमात्रै पाएका थिए ।
नगरपालिकामा कुल १७ हजार एकसय १६ मत रहेकामा ११ हजार नौ सय ३७ मत खसेको थियो । जसमध्ये १० हजार ७ सय ९० मत सदर भएको थियो ।
यसपटक पनि यो नगरपालिकामा कांग्रेसकै पल्ला भारी देखिन्छ । विभाजित एमालेले यहाँ कांग्रेसलाई कत्तिको टक्कर दिन्छ ? त्यो हेर्न भने वैशाख ३०को मिति नै कुर्नुपर्छ । माओवादी केन्द्र र एमाले फुँटेर बनेको एकीकृत समाजवादीको अवस्था भने यहाँ नाजुक नै छ ।
यसपटक यहाँ २० हजार ५ सय ८० मतदाता कायम भएका छन् ।
आदर्श गाउँपालिका
अघिल्लो निर्वाचनमा एमाले नै बलियो देखिएको यो पालिकामा उसले स्वभाविक जित हासिल गरेको थियो । यहाँ एमालेका उम्मेदवार टेकबहादुर रोकाया ३ हजार ५ सय ३५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मणबहादुर सिँहले २ हजार ७ सय ६ मत ल्याउँदा माओवादी केन्द्रका भरतबहादुर बोहराले ८ सय ३४ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि एमालेकै कमला ओझा विजयी भएकी थिइन् ।
यहाँ अघिल्लो निर्वाचनमा कुल ११ हजार ४ सय १६ मतदाता रहेकामा ८ हजार ४९ मत खसेको थियो । जसमध्ये ७ हजार २ सय ३७ मत सदर भएको थियो ।
यसपटकको अवस्था भने एमालेका लागि निकै असहज देखिएको छ । यहाँ एमाले विभाजनको असर निकै ठूलो छ । संविधानसभा सदस्य हर्कबहादुर सिँह लगायतका तमाम नेता कार्यकर्ता पार्टी बिभाजनपछि एसतिर लागेका छन् । यसको साझो फाइदा कांग्रेसले उठाउन सक्छ ।
यसमा फेरी सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल भए यहाँ एमालेले आफ्नो विरासत गुमाउनसक्ने खतरा अझैँ बढ्छ । यसपटक यहाँ १४ हजार ३ सय ९९ मतदाता कायम भएका छन् ।
बडीकेदार गाउँपालिका
कांग्रेसको सुषुप्त संगठन रहेको यो पालिकामा गत निर्वाचनमा कांग्रेसले जित निकालेको थियो । धेरैले गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्णबहादुर चन्दको परिपक्व रणनीति र विश्वासिलो तथा भरपर्दाे स्वभाव जनताले रुचाएका कारण जित सम्भव भएको दाबी गर्ने गरेका छन् ।
उनले निर्वाचनमा २ हजार ३ सय २१ मत ल्याएका थिए भने, उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर साउँदले एकहजार ९ सय ९८ मत पाउँदा अर्का प्रत्यासी माओवादी केन्द्रका जंगबहादुर बिकले ७ सय ९२ मतमात्रै पाएका थिए । उपाध्यक्षमा पनि कांग्रेसकै इन्द्रा भाट बोहरा विजयी भएकी थिइन् ।
गाउँपालिका उतिबेला रहेको ७ हजार ५ सय ९९ मतमध्ये ५ हजार ५ सय १४ मत खस्दा ५ हजार २४ मत सदर भएको थियो ।
यसपटक यो पालिकामा कांग्रेसले आफ्नो संगठन मजबुत बनाएको छ । तर कांग्रेसभित्र आन्तरिक किचलो भने छताछूल्ल छ । त्यो किचलो चुनावसम्म पुगे अवस्था दुर्घटनातिर जानसक्छ ।
यद्यपी उसको किचलोको फाइदा उठाउनसक्ने सामथ्र्य नजिकको प्रतिस्पर्धीसँग पनि सहज देखिदैँन् । एमाले विभाजनको असर यो पालिकामा ठूलो देखिन्छ । यहाँ एमाले र एसको अवस्था झण्डैँ समानान्तर रूपमा खण्डित भएको छ ।
यस्तो खण्डित शक्तिले कांग्रेसको बिबादका बाबजुत पनि पालिकाको नेतृत्व हत्याउनसक्ने सम्भावना कमजोर देखिन्छ । उता माओवादी केन्द्रको हविगत यहाँ निरीह नै हो । यहाँ हाल ९ हजार ३ सय ५५ मतदाता कायम छन् ।
बोगटान फुड्सिल गाउँपालिका
अघिल्लो स्थानीय तह निर्वाचनअघिसम्म एमालेको गढ रहेको यो गाउँपालिकामा टिकट वितरणका बेला ठूलै बिबाद देखियो । त्यो बिबादले एमालेका तमाम मतदाताले व्यक्तिगत रूपमा माओवादी केन्द्रका उम्मेदवार कमल गड्सिलालाई रोजे ।
कतिसम्म भने वडा नम्बर २ मा एमालेका वडाध्यक्षका उम्मेदवार कर्णसिँह बोहरा २ सय ४९ मतका साथ निर्वाचित हुँदा गाउँपालिका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले ८५ भन्दा कम मत ल्याएका थिए । एमालेबाट उठेका ७ वटै वडाध्यक्षहरूको मतको जोड २ हजार १५ पुग्दा गाउँपालिका अध्यक्षका उम्मेदवारको मत एक हजार ८ सय ८ मात्रै आएको थियो ।
यहाँ माओवादी केन्द्रका गडसिलाले २ हजार ८९ मत ल्याएर विजयी हुँदा एमालेका अध्यक्ष बम दोस्रो र कांग्रेसका उम्मेदवार दिलबहादुर बम एकहजार ७ सय १४ मतका साथ तेस्रो भएका थिए । उपाध्यक्षमा एमालेकै भगवती बम विजयी भएकी थिइन् । यहाँ कुल ८ हजार ४ सय २८ मतमध्ये ६ हजार एकसय १५ मत खसेकोमा ५ हजार ५ सय ५६ मत सदर भएको थियो ।
यसपटक यहाँ सत्तारूढ दलहरूबीच तालमेल नभएको अवस्थामा अघिल्लो पटकजस्तै त्रिपक्षिय भिडन्त हुने देखिएको छ । एमाले विभाजनको असर यो पालिकामा खास्सै देखिदैन । त्योमात्र होइन, यहाँ हाल एमालेभित्र बिबाद पनि देखिदैन । यस्तो अवस्थामा एमालेले आफ्ना पुराना मत सुरक्षित गरे उसको अवस्था सुदढ देखिन्छ ।
कांग्रेसले विगतको तुलनामा यहाँ संगठन बढाएको छ । जसले पुरानो मतमा उसले उल्येख्य सुधार गर्ने देखिन्छ । यसबाहेक एमालेभित्रको तरलता र माओवादी केन्द्रभित्रले स्थानीय सरकार चलाउँदा गरेका कमीकमजोरीले उसलाई फाइदा पुग्ने देखिन्छ ।
यसरी कांग्रेस–एमालेले पुरानो अवस्थालाई सुधारेका छन् । यही अवस्था कायम मतदानका दिनसम्म कायम रहे गत निर्वाचनमा माओवादी केन्द्रले तानेको उनीहरूको मत फिर्ता हुने देखिन्छ । जसले माओवादी केन्द्रको अवस्थालाई संकटमा पार्ने देखिन्छ । माओवादी केन्द्र्रसँग कांग्रेस–एमालेजस्तो ठूलो ‘संगठन मत’ भने देखिदैन् ।
यसपटक यहाँ १० हजार ७९ मतदाता संख्या पुगेको छ ।
सायल गाउँपालिका
२०७४ को स्थानीय तह निर्वाचनमा टिकट वितरणमा आन्तरिक किचलो बढेपछिको असर कांग्रेसले यहाँ व्यहोरेको थियो । तुलनात्मक रूपमा संगठन मत बलियो भएपनि अन्तर्घात भएका कारण कांग्रेसका उम्मेदवार धर्मराज जोशी एमालेका तेजबहादुर डुम्रेलसँग ३ सय ७३ मतको अन्तरले पराजित भएका थिए ।
सो चुनावमा सायलमा रहेको कुल ८ हजार नौ सय २८ मतमध्ये ६ हजार ३ सय ३ मत खसेको थियो । जसमध्ये एमाले उम्मेदवार डुम्रेलले २ हजार ६ सय ३१ मत पाउँदा कांग्रेस उम्मेदवार जोशीले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने, नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर ओलीले ५ सय ६९ मत पाएका थिए ।
यसपटक पुरानो मतभिन्नतालाई चिर्दै कांग्रेसले यहाँ जोशीलाई नै सर्वसम्मत उम्मेदवार बनाइसकेको छ । अन्यथाबाहेक अब कांग्रेसबाट जोशी नै निर्वाचन लड्ने छन् । यस्तोमा कांग्रेसभित्र देखिएको एकता र एमालेको विभाजन भएको अवस्थामा स्वतः कांग्रेसलाई फाइदा पुग्नसक्ने तथ्यांकले देखाउछ ।
यहाँ हाल १० हजार ९ सय ४ मतदाता कायम भएका छन् ।
पूर्विचौकी गाउँपालिका
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसभित्रको आन्तरिक कलह र अन्तर्घातको नमूना यो पालिकामा छताछुल्ल भएको थियो । कतिसम्म भने ७ वडामध्ये ५ वटा वडामा कांग्रेसका उम्मेदवार जित्दा समेत गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेसले पराजय भोगेको थियो । पराजय पनि जम्मा ४७ मतको थियो ।
यहाँ कुल ११ हजार एकसय ३ मतमध्ये ७ हजार ९ सय ४० मत खसेकोमा ७ हजार ४ सय २९ मत सदर भएको थियो । जसमध्ये एमालेका उम्मेदवार दीर्घराज बोगटीले ३ हजार ६ सय १५ मत ल्याएर विजयी हुँदा कांग्रेसका रामप्रसाद उपाध्यायले ३ हजार ५ सय ६८ मत ल्याएर दोस्रो भएका थिए । माओवादी केन्द्रका यज्ञराज गिरीले २ सय २६ मत मात्रै प्राप्त गरेका थिए ।
पूर्विचौकी गाउँपालिका गत निर्वाचनमा पराजित भएपनि कांग्रेसको परम्परागत गढ नै हो । यसपटक पनि कांग्रेस नै यहाँ बलियो छ । त्यसमा पनि एमालेको बिभाजनले कांग्रेसलाई निकै फाइदा पुग्ने देखिन्छ । यहाँ एमालेबाट गाउँपालिका अध्यक्ष जितेका बोगटी अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । अन्य ठूलो नेताकार्यकर्ताको पङ्ती एमालेतिर छ ।
यहाँ गठबन्धन भए एकीकृत समाजवादीले दाबी गर्ने सम्भावना छ । तर कांग्रेसले आफ्नो बलियो जनाधार भएको क्षेत्र सजिलै छाड्ने अवस्था देखिदैन् ।
जोरायल गाउँपालिका
एमालेको सशक्त क्षेत्र जोरायलमा अघिल्लो निर्वाचनमा अपेक्षाकृत परिणाम निकालेका थियो । एमालेका तत्कालीन जिल्ला उपाध्यक्ष समेत रहेका दुर्गा ओझाले यहाँ कांग्रेसका उम्मेदवार दीपकबहादुर विष्टसँग निकै सहज जित निकालेका थिए ।
यहाँ उतिबेला कुल ११ हजार एकसय ५० मतमध्ये ८ हजार ३ सय ६२ मत खस्दा ७ हजार ६ सय ८५ मत सदर भएको थियो । त्यसमध्ये ओझाले ३ हजार ८ सय ७४ मत ल्याउँदा कांग्रेसका विष्टले ३ हजार २ सय २८ मत पाएका थिए । माओवादी केन्द्रका छवीलाल ओलीले जम्मा ६ सय ९८ मतमात्रै ल्याएका थिए ।
यसपटक यहाँ एमाले बिभाजनको सबैभन्दा ठूलो खाडल कोरिएको छ । यहाँ निर्वाचित अध्यक्ष ओझा एमालेतिरै छन भने, यही घर भएका प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर एकीकृत समाजवादीतिर छन् । उनी अहिले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत छन् ।
दुबैजनाबीचको दुस्मनी पनि उच्चस्तरमा छन् ।
यसबाहेक अध्यक्ष ओझा विभिन्न प्रकरणमा बिबादित बनेका छन् । यसैले यहाँ अहिले सोझो फाइदा कांग्रेसले उठाउन सक्ने सम्भावना छ । यद्यपी गठबन्धन हुने हो भने, यहाँ कांग्रेसले छाड्नुपर्ने पनि हुनसक्छ । तर कांग्रेसले सहजै छाड्नसक्ने स्थिती भने देखिन्न ।
अहिले यहाँ कुल १३ हजार ३ सय १५ मतदाता कायम भएका छन् ।
केआईसिँह गाउँपालिका
२०७४ सालको निर्वाचनमा यो पालिका मात्रै यस्तो पालिका हो जहाँ ७ वटै वडाका सदस्यदेखि गाउँपालिकाको नेतृत्वसम्म सबै कांग्रेसले जितेको थियो । कांग्रेसअघि सबैजसो वडामा विपक्षी पार्टीहरू निरीह देखिएका थिए ।
यहाँ कुल १० हजार एकसय ७६ मतमध्ये ७ हजार ४ सय ३५ मत खसेकोमा ६ हजार ८ सय ६६ मत सदर भएको थियो । जसमध्ये कांग्रेसका उम्मेदवार लोकेन्द्रबहादुर शाहीले ३ हजार एक सय ८८ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज जोशी झण्डै आधा मत पछाडि परेर एक हजार ५ सय ६३ मतमा सिमित हुँदा माओवादी केन्द्रका सिद्धराज भाटले ९ सय ४८ मत ल्याएका थिए ।
यस्तै जनमोर्चाका मिनबहादुर मलासीले ८ सय ४० मत पाउँदा राप्रपाका टेकबहादुर रावलले २ सय ८६ मत ल्याएका थिए ।
यसपटक पनि यहाँ कांग्रेसलाई निकै सहज देखिन्छ । कांग्रेसले यहाँ बिगतभन्दा अहिले अझै संगठनमा सुधार गरेको छ ।
जसले विपक्षी पार्टीहरू नजिक पुग्ने अवस्था छैन् । एमाले विभाजनको असरमा पर्दा माओवादी केन्द्रसँग यहाँ निर्णायक मत पुग्दैन् ।
यसपटक यहाँ कुल १३ हजार ७७ मत कायम भएका छन् ।





प्रतिकृया दिनुहोस्