पहिरोले घर पुरिँदा हुम्लामा ६ जनाको मृत्यु

हुम्ला, कार्तिक ३ (ई-रैवार)
अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा ६ जनाको मृत्यु भएको छ। गए राति ९ बजेतिर खार्पुनाथ गाउँपालिका–५ खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पहिरोले पुरेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित परिवारका ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन।
धनविरेकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाहीको पनि पहिरोमा परेर मृत्यु भएको छ। कलबहादुरका तीन जना छोरा १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र ३ वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
२० मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो। घटनामा मृत्यु भएका चार जनाको शव निकालिएको छ भने २ जनाको निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
वर्षाका कारण प्रहरी टोली राति नै घटनास्थलमा पुग्न नसकेको प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताए । ‘‘वर्षाले टावर अवरुद्ध छन् । घटनास्थलनजिकैको याङ्चु प्रहरीचौकीमा सम्पर्क हुन सकेन । त्यसैले आज बिहानदेखि घटनास्थलमा पुगेका छौँ,” प्रहरी उपरीक्षक श्रेष्ठले भने ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी संकलन गर्न कठिनाइ भइरहेको बताए । ‘‘लिमी, लाप्चाका सीमानाकाहरू हिउँले पुरिएका छन् । कहाँ के भइरहेको छ भनेर जानकारी लिन सकिने अवस्था छैन । नेपाल टेलिकमको टावर अवरुद्ध भएको छ । वर्ल्डलिंकको इन्टरनेट सेवा पनि अवरुद्ध छ,” उनले भने ।





प्रतिकृया दिनुहोस्