कर्णाली प्रदेशका ३ मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत, असार ४ (ई-रैवार)
नेकपा एमालेले कर्णाली प्रदेशका ३ जना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका ३ जना मन्त्रीलाई तत्काल राजीनामा दिन नेकपा एमालेले निर्देशन दिएको हो ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी तीनै जना मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो ।
गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।
अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएर पुनः एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बारबार आमन्त्रण गर्दा पनि उपस्थित नहुने, माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भइ आफ्नो पार्टीको निर्णय नमानेको भन्दै तत्काल राजीनामा दिन दलको बैठकले निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।
माधव समुहकै अर्का निर्णायक पात्रको रुपमा मानिएका प्रकाश ज्वाला भने दुईपटक बैठकमा सहभागी भइसकेका छन् । तर, सरकारमा रहेका तीन जनाले भने केन्द्रको निर्णयमा चल्नै भन्दै दुईपटक दलको बैठक बहिस्कार गरिसकेका छन् ।
प्रकाश ज्वालासहित सो समुहका तीन मन्त्रीहरुले गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । पार्टीको निर्णय उल्लंघन गरेको भन्दै एमालेले उनीहरुको सांसद पद बर्खास्त गरिदिएको थियो ।
तर, सर्वोच्चले सांसद पद पुनर्बहाली गरिदिएपछि एमालेले पुनः आफ्नो सरकार बनाउने कसरत गरिरहेको छ ।





प्रतिकृया दिनुहोस्