मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेशमार्फत झन्डै १६ खर्बको बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ, जेठ १५ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिशका लागि बैठक बिहान ११ बजे बस्ने लागेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्ने जानकारी दिए । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
प्रतिनिधिसभा नरहेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन जरूरी नरहेको भन्दै विपक्षी दलहरू र विज्ञहरूले विरोध गरे पनि सरकारले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।
अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ । डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका थिए ।
झन्डै १६ खर्बको बजेट आज सार्वजनिक हुँदै
संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै छ । सरकारले संविधानले व्यवस्था गरेअनुसार आज ४ बजे आर्थिक वर्ष २०७८/७९ को आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्न लागेको हाे ।
संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिले संसद् विघटन भएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेटमा केही चुनाव लक्षित कार्यक्रम राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पौडेलले सामाजिक सुरक्षा भत्ता बढाएका छन्।
मध्यावधि निर्वाचन खर्च, सामाजिक सुरक्षा भत्ता वृद्धि, कोरोनाविरुद्धको खोप खरिद, कोरोना संक्रमितको उपचार, स्वास्थ्य संस्थाहरूमा पूर्वाधार निर्माणलगायत यस वर्ष एक खर्ब रुपैयाँ हाराहारीमा अतिरिक्त बजेट आवश्यक परेकाले सरकारलाई स्रोतमा चाप परेको छ। अतिरिक्त खर्च गर्नुपरेका कारण आयोजनाहरूलाई बजेट धेरै दिन सकिएको छैन।
अर्थ स्रोतका अनुसार सबैतिर मिलाउँदा बजेटको आकार १५ देखि १६ खर्ब रुपैयाँ बीचमा रहने छ।





प्रतिकृया दिनुहोस्