April 18, 2026, Saturday
२०८३ बैशाख ५

डडेलधुरासहित ३ अस्पताललाई अक्सिजन प्लान्टका लागि पौने ६ करोड स्वीकृत

काठमाडौँ, जेठ २ (ई-रैवार) 

डडेलधुरा सहित तीन अस्पताललाई सरकारले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका छ । नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहालीसँगै तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेका हुन् ।

सरकारले डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको र कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याइने अर्थमन्त्री पौडेलले बताए ।

अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पसाथ बजेट ल्याउन लागिएको जानकारी दिए । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने पौडेलको भनाइ छ ।