March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

पर्यटकीय गन्तव्य : रातको समयमा पनि आलिताल अवलोकन गर्न सकिने

राम धामी

डडेल्धुरा, असोज २९ (ई-रैवार) 

भित्रिमधेशको आलिताल गाउँपालिकास्थित पर्यटकीय गन्तव्य मनमोहक आलिताललाई रातीको समयमा पनि अवलोकन गर्न सकिने भएको छ ।

आलिताल गाँउपालिकाले सोलार वत्ती जडान गरेर आलिताललाई रात्रीकालिन समयमा पनि सहजै अवलोकन गर्न सकिने बनाईन चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरिएको र चाँडै निर्माण कार्य थालिने आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले  बताए ।

तालको चारै तिर सोलार वत्ती जडान गरेर ताल क्षेत्रमै बस्न मिल्ने गरी सो क्षेत्रमा पर्यटन प्रवद्र्धनका पुर्वाधारहरु विकास गरिन लागेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारले आलिताल क्षेत्रको विकासका लागि केही रकम बिनियोजन गरेको र आलिताल गाँउपालिकाले १५ लाख बराबरको बजेटमा आलिताल क्षेत्रमा पर्यटकीय पुर्वाधार विकासका काम गरिने छ ।

आलिताल क्षेत्रमै क्यापिङ्ग गरि रातीको समयमा समेत अवलोकन गर्न सकिने व्यवस्थापन गर्न लागिएको हो । आलिताल क्षेत्रमा यसबर्ष करिब १० वटा सोलार वत्ती जडान गर्ने काम सम्पन्न गरिने छ । तालको छेउमा चिया, कफी सप, चिसो पेय पदार्थसंगै खाना र खाजाको प्रबन्ध गरिने र पर्यटकहरुलाई राती बस्नका लागी क्याम्पहरु स्थापना गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

आलिताललाई रातीको समयमा अवलोकनसंगै क्यापिङ्ग र फायर साईड बनाईने योजना अघि सारेको अध्यक्ष गुरुङ्गको भनाई छ । यसअघि आलिताल क्षेत्रमा पिकनिक स्पोर्टका लागी घरहरु निर्माण गरिएका छन ।

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो र मनमोहक आलितालमा हाल डुङ्गा सयर गर्न सकिन्छ । तालको चारैतिर पक्की फुटपाथ बनाईएको छ । ताल क्षेत्रमा साईकलिङ्ग पनि गर्न सकिन्छ । तालको अवलोकनका लागी भ्यूटावर पनि निर्माण गरिएको       छ ।

आलिताल धनगढी–डडेल्धुरा भिमदत्त राजमार्गको मध्य भाग डोटीको बुडरबाट करिब १८ किलोमिटर पश्चिम तर्फपर्छ । बुडर–जोगबुडा सडकको पनि मध्य भाग गोदाम बजारबाट अढाई किलोमिटरको दुरीमा रहेको आलिताल पर्यटकीय सम्भावना बोकेको गन्तब्य हो ।

हाल बुडर–जोगबुडा सडक कालोपत्रेको चरणमा छ । हाल आलिताल नजिकैका गाउँमा होम स्टेका योजनाहरु पनि सञ्चालन गरिएका छन । कोरोना भाईरसको संक्रमण फैलिनु पुर्व आलीतालको अवलोकन गर्न दैनिक ४०–५० जना पुग्ने गरेका थिए । लकडाउन यता भने आलिताल भ्रमण गर्नेहरुको संख्यामा कमि आएको छ ।