March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं निर्वाचन मंसिरमा हुने

काठमाडौं, असोज १५ (ई-रैवार)

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक निर्वाचन मंसिरमा हुने भएको छ । उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि ११ र १२ मंसिरमा हुने भएको हो ।

चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेका हुन ।

‘कार्यसमितिको आज बसेको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रियसभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ’ महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ ।’

यसअघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रम काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिएको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रूपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो । पछि ७ र ८ जेठ र २६ र २७ साउनका लागि मिति तोकिएको थियो । तर, देशमा जारी लकडाउन तथा निषेधको आदेशलगायतबाट हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।