April 18, 2026, Saturday
२०८३ बैशाख ५

सञ्चार गृहमै पत्रकार कुटपिट प्रकरण : पत्रकार महासंघले दियो अल्टिमेटम

धनगढी, भदौ २७ (ई-रैवार) 

दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि हातपात गर्नेहरुलाई पक्राउगरी कार्वाही गर्न नेपाल पत्रकार महासंघले प्रशासनलाई अल्टिमेटम दिएको छ।

दिनेश सञ्चार गृहमा घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै पत्रकार महासंघ कैलाली शाखाले भोलिसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

शनिबार पत्रकार महासंघ कैलाली शाखाको अगुवाइमा भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीलाई पक्राउ गर्न दुई दिने अल्टिमेटम दिएको कैलाली शाखाका अध्यक्ष जगत साउदले बताए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले ध्यानाकर्षण पत्र बुझ्दै भोलिसम्म दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका छन्। ‘हामीले चारैतिर अनुसन्धान गरेका छौं,’ उनले भने, ‘भोलिसम्म घटनामा संलग्नलाई समात्न सक्छौं।’

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृत अवस्थामा भेटिएका थिए। प्रहरीले दिएको जानकारी अनुसार शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको थियो।

आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै २०–२५ जना युवाको समुह दिनेश सञ्चार गृहमै गएर पत्रकारमाथि कुटपिट गरेका थिए। उनीहरूले सञ्चार गृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेका थिए। भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि उनीहरुले हातपात गरेका थिए।