April 18, 2026, Saturday
२०८३ बैशाख ५

त्रिपालबाट भुर्केलाबासीको दुखेसोः सरकारले हाम्रो पीडा न देख्यो, न सुन्यो !

डोटी साउन २०(ई–रैवार)
गाउँमाथि चिरैचिरै परेको छ ! माथिबाट बर्सेनी भाँसिदै आउछ । भाँसिएको जमिनले घरआँगन छोप्नै आँट्यो !
त्यसपछि सायल गाउँपालिका–२ भुर्केलाबासीले घर छाडे । बस्तुभाउ लेकतिर लखेटे ! अनि गएर पालमूनी दिन काटिरहेका छन् । ‘दिनहुँ पानी परेको प¥यै छ । पहिरो खसिरहन्छ,’ स्थानीयबासी शेरबहादुर थापाले भने,‘ज्यान हत्केलामा थामेर कतिदिन बस्नसकिन्छ ? त्यसैले घर छाडेर हिँड्यौ ।’


भुर्केला गाउँमा ३५ घरधुरी बस्छन् । जसमा तीनसय ९० जनसंख्या छ । तीमध्ये अधिकांश परिवारको घर बढी जोखिममा छ । बढी जोखिममा भएका परिवारहरु घर छाडेर नानीतोला भन्ने ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । ‘छन त पुरै गाउँ नै जोखिममा छ । सबैजसो घरहरु पहिरोले पुर्ने खतरा छ,’अर्का स्थानीय रामबहादुर थापा भन्छन्,‘तर, केही परिवार मरे मरुँला कता जाउ ? भनेर बसेका छन् । हामी १८÷२० परिवार यहाँ(नानीतोला) आएका छौ ।’
भुर्केला गाउँ पहिरोले जोखिममा परेको पहिलोपल्ट होईन् । यसअघि २०७२ सालमा सायल क्षेत्रमा परेको भीषण बर्षाले व्यापक जनधनको क्षती गरेको थियो । जहिँतहीँ आएका पहिरोमा परी चारजनाको ज्यान जादा भुर्केलामा पनि एकको मृत्यु भएको थियो । तमाम बस्तुभाउहरु बगेका थिए ।
‘त्यसैबर्षदेखी हो हाम्रो गाउँमाथि जमिनमा पुरै चिरैचिरा परेको,’ स्थानीय गणेश थापा भन्छन्,‘त्यसपछि बर्सेनी बर्खामा हामीलाई ज्यानको चिन्ता हुन्छ ।’ बर्खाका दिनहरु भुर्केलाबासीका लागि निकै त्रासका दिनहुने उनी बताउछन् । ‘बर्खा गए मृत्यु टरेको महशुस हुन्छ । बर्खा आउदा कहाँ जाने के गर्ने चिन्ता पलाउछ,’ उनले थपे ।
गाउँ स्थानान्तरण गर्नु नै एउटामात्र बिकल्प रहेको स्थानीय अगुवा धर्मराज जोशी बताउछन् । उनी भन्छन्,‘भुर्केलाबासीको दुरावस्था सरकारलाई बिझ्नुपर्छ । उहाँहरुको समयमै स्थानान्तरण गरेर जनताको जीउधनको रक्षामा सरकारले जिम्मेवारी ग्रहण गर्नुपर्छ ।’
यसअघि गाउँ स्थानान्तरणको माग स्थानीयबासीले नगरेका होईनन् । २०७२ सालको पहिरोपछि सायल क्षेत्रको समग्र प्रतिबेदन बोकेर एउटा प्रतिनिधी मण्डल सिँहदरबारसम्म पुगेको थियो । जसमा भुर्केला गाउँबासीलाई स्थानान्तरणको माग समेत समावेश थियो । तर त्यसो गर्दासमेत गाउँबासीको पीडा सरकारले नसुनेको स्थानीयबासीको दुखेसो छ । ‘सरकारले हाम्रो पीडा न सुन्न सक्यो, न देख्यो,’ शेरबहादुर भन्छन्,‘हामीले सरकारबाट अहिलेसम्म पाएको भनेको जम्मा केहीथान पाल र बाल्टी हो । जुन यसपटक गाउँपालिकाले दिएको छ ।’ त्यो पाल र बाल्टीनबाहेक गाउँपालिकाबाट कुनै थप सहयोग नआएको उनले बताए । ‘लकडाउनको बेला महंगोमा रासन किनेर खादैछौ । यसबिषयमा बुझिदिने कोही छैन् । सायद हामी पहिरोमा पुरिएर मरेपनि सुन्ने सरकार छैन्,’ उनले दुखेसो गरे ।