प्रधानमन्त्रीको विवादित अभिव्यक्ति पछि भारतमा नेपालीलाई दुव्र्यवहार

धनगढी, साउन २ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अभिव्यक्तिपछि आक्रोशमा आएका भारतीयहरु नेपाली नागरिकमाथि दुव्र्यवहारमा उत्रिएका छन ।
प्रधानमन्त्री ओलीले हिन्दुधर्मावलम्बीहरुले भगवानका रुपमा मान्दै आएका पात्र राम र उनको जन्मभूमिका बारेमा गलत अभिव्यक्ति दिएको भन्दै उनीहरु भारतमा बस्दै आएका नेपालीमाथि आक्रोश पोखिरहेका हुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचन लड्दै आएको क्षेत्र वाराणसीमा विश्व हिन्दु सेनाले एक नेपाली युवकको शीर मुण्डन गरेर दुव्र्यवहार गरेको हो । ती युवकको शीरमा उक्त संगठनका कार्यकर्ताहरुले जवरजस्ती ‘जय श्रीराम’ लेखेर दुव्र्यवहार गरेका हुन ।
उनीहरुले नेपाली युवकबाट जवरजस्ती भारतको समर्थन र नेपालका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएका छन । हिन्दुवादी संगठन विश्व हिन्दु सेनाले घटनाको भिडियोे सामाजिक सञ्जालमा भाइरल बनाएका छन ।

हिन्दुवादी संगठनले नेपाली युवकमाथि दुव्र्यवहार गर्नुभन्दा अघि बिहीबार बिहान वाराणसीको चोक क्षेत्रमा रहेको नेपाली मन्दिर बाहिर चेतावनीयुक्त पोस्टर लगाएको एक नेपालीले बताएका छन । पोस्टरमा लेखिएको थियो, ‘नेपाली पीएम ओली प्रभु श्रीरामविरुद्धको बयान फिर्ता लेउन, अन्यथा यसको परिणाम भारतमा रहने नेपालीहरुले भोग्नुपर्ने छ ।’
भिडियो भाइरल भएपछि स्थानीय प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले हिन्दुवादी संगठनका अध्यक्ष र घटनामा सहभागी उनका कार्यकर्ताहरुविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।





प्रतिकृया दिनुहोस्